‘सरकारले चुनाव चाहेको कि युद्ध?’ : विप्लवको कडा चेतावनी


काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो पार्टीलाई युद्धतर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कपिलवस्तु र अर्घाखाँचीस्थित पार्टीका श्रम शिविरमा प्रहरीले अपरेसन चलाएको भन्दै गम्भीर आपत्ति जनाए ।

महासचिव विप्लवका अनुसार सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बेलामा दमन र अपरेसनमार्फत द्वन्द्वको अवस्था सिर्जना गर्न खोजिरहेको छ । उनले ती क्षेत्रमा परिचालित प्रहरी तत्काल फिर्ता नबोलाए सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिए । “सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध ?” भन्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई सार्वजनिक रूपमा प्रश्नसमेत गरे ।

उनले श्रम शिविरमा गरिएको प्रहरी अपरेसन गलत भएको स्वीकार गरी माफी नमागे सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । महासचिव विप्लवले भने, “हाम्रो केन्द्रीय कम्युनमा प्रहरीहरूको अपरेसन भयो । हामी यहीँबाट सरकारलाई स्पष्ट भन्न चाहन्छौँ, तिमीले चुनाव चाहेको हौ कि युद्ध? यसको फैसला चाहिन्छ ।”

कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले सबै क्षेत्रमा उम्मेदवारी दिने घोषणा पनि गरे। उनले राजनीतिक प्रतिस्पर्धा चुनावमार्फत हुनुपर्ने भन्दै राज्यको दमनकारी नीति जारी रहे त्यसको प्रतिरोध गर्न बाध्य हुने धारणा राखे । यस घटनाक्रमले निर्वाचनको तयारी भइरहेका बेला राजनीतिक तनाव बढ्न सक्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्