मोरङ । मोरङको बेलबारीमा प्रहरीले अवैध काठ र ट्याक्टरसहित एक जना पक्राउ परेको छ । बेलबारी नगरपालिका-८ स्थित चाँदनी चोक नजिक अवैध काठ ओसारपसार गर्दै गरेको अवस्थामा चेकजाँच टोलीले ट्याक्टरसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी डागिहाट, मोरङबाट प्रहरी निरीक्षक डम्बरबहादुर गिरीको कमान्डमा खटिएको चेकिङ टोलीले ७ गते साँझ करिब १० बजे चिसाङ खोलाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०१-००१ त १०३० नम्बरको ट्याक्टर रोकी जाँच गरेको थिए । जाँचका क्रममा उक्त ट्याक्टरमा अवैध रूपमा लोड गरिएको १४ वटा टुना सिमलको काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवैध काठसहित ट्याक्टर र ट्याक्टर चालकलाई तत्काल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा पर्नेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-१३ निवासी महमत रजतका २० वर्षीय छोरा महमत आयसान रहेका छन् । प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारबाहीका लागि ट्याक्टर, काठ र चालकलाई ८ गते सब-डिभिजन वन कार्यालय बेलबारी, मोरङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
वन ऐन तथा नियमावली विपरीत काठ तस्करी भइरहेको सूचनाका आधारमा गरिएको चेकजाँचबाट अवैध काठ बरामद भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया वन कार्यालयमार्फत अघि बढाइने जनाइएको छ ।


