काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री वा कार्यकारी प्रमुख भएर देशको सेवा गर्ने स्पष्ट चाहना रहेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित ‘जेनजी’ पुस्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने र जनताले विश्वास दिए एक पटक देशको कार्यकारी नेतृत्व सम्हालेर काम गर्न चाहेको धारणा राखे।
कार्यक्रममा बोल्दै विप्लवले आफू सत्ताका लागि होइन, जिम्मेवारीका लागि नेतृत्वमा जान चाहेको बताए। उनले किसान, मजदुर, बुद्धिजीवी, व्यापारी, मध्यमवर्ग तथा गाउँ-सहरका आम जनताले अवसर दिए “गोरुजस्तो जोतेर देशको सेवा गर्ने” नेकपा (माओवादी) को आकांक्षा रहेको उल्लेख गरे। उनका अनुसार राज्य सञ्चालनमा इमानदार र कार्यमुखी नेतृत्व आवश्यक भइसकेको छ।
तर, सरकारले तोकेको फागुन २१ गतेको निर्वाचन मितिप्रति उनले गम्भीर शंका व्यक्त गरे। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले समयमै निर्वाचन गराउन सक्छ भन्नेमा धेरैको विश्वास नरहेको उनको भनाइ थियो। प्रहरी र कर्मचारीको मनोबल कमजोर भएको, विगतमा लुटिएका हतियार अझै फिर्ता नभएको तथा निर्वाचन सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन हुन नसकेको अवस्थाले निर्धारित मितिमा चुनाव हुनेमा प्रश्न उठेको उनले बताए।
विप्लवले वर्तमान राजनीतिक संकटको निकासका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। देशमा स्थायित्व र जबाफदेही शासन प्रणालीका लागि सर्व सहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था उपयुक्त हुने उनको धारणा थियो। यही व्यवस्था ‘जेनजी’ पुस्ताको प्रमुख माग पनि रहेको उनले कार्यक्रममा स्पष्ट पारे।
कार्यक्रममा सहभागी युवाहरूको प्रश्नको जवाफ दिँदै विप्लवले जनताको प्रत्यक्ष मतबाट चुनिएको कार्यकारी नेतृत्वले मात्र देशलाई राजनीतिक अस्थिरताबाट बाहिर निकाल्न सक्ने दाबी गरे। उनले भने, “यदि नेपालका किसान, मजदुर, बुद्धिजीवी, व्यापारी, मध्यमवर्ग र गाउँ–सहरका जनताले हामीलाई मौका दिनुहुन्छ भने, एक चोटि प्रधानमन्त्री भएर वा कार्यकारी प्रमुख भएर देशको सेवा गर्ने चाहना हाम्रो छ।”
‘जेनजी’ पुस्तासँगको अन्तरक्रियामा उनले वर्तमान राजनीतिक संरचना, निर्वाचन प्रणाली र राज्यको कार्यशैलीप्रति युवाहरूमा बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्दै वैकल्पिक राजनीतिक धार आवश्यक भइसकेको बताए।


