मधेस प्रदेश सभामुख चयनका लागि आज मतदान


काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएसँगै मतदान प्रक्रिया अघि बढ्ने कार्यतालिका तय गरिएको छ ।

सभामुख पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव उम्मेदवार बनेका छन् भने प्रतिपक्षी नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन् ।

रामअशिष यादवको उम्मेदवारीमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक रहेका छन् भने नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य फकिरा महतो समर्थकको भूमिकामा छन् । त्यस्तै, एमाले उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा शारदा देवी थापा र समर्थकमा जयचन्द्रप्रसाद पटेल रहेका छन् ।

सभामुख चयनलाई मधेस प्रदेशको राजनीतिक स्थिरता र प्रदेशसभाको नियमित कामकाजलाई गति दिने महत्त्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ । आजको निर्वाचनबाट बहुमत प्राप्त गर्ने उम्मेदवार मधेस प्रदेश सभाको नयाँ सभामुखमा निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्