श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ निलम्बन


काठमाडौँ । श्रम संस्कृति पार्टीले पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पदबाट निलम्बन गरेको छ । धेरै वर्षअघिको राजनीतिक गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएपछि निष्पक्ष र स्वतन्त्र अनुसन्धान सुनिश्चित गर्न निलम्बन गरिएको पार्टीले जनाएको छ ।

पार्टी केन्द्रीय कार्य समिति, काठमाडौँबाट जारी गरिएको विज्ञप्तिअनुसार पुस १ गते प्रहरीले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । यस घटनापछि सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव, दबाब वा हस्तक्षेप नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुङ्गो नलागेसम्मका लागि उनलाई उपाध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरिएको केन्द्रीय अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जानकारी दिएका छन् ।

विज्ञप्तिमा पार्टीले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलनमा आधारित राष्ट्र निर्माणको आफ्नो मूल नीतिलाई दोहोर्‍याउँदै कानुनी शासन, पारदर्शिता र जबाफदेहिताप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । “श्रम गरौँ सबै मिली, बनाऔँ यो देश” भन्ने मूल भावनाअनुसार पार्टीले विधिको शासनलाई उच्च प्राथमिकता दिएको जनाइएको छ ।

श्रम संस्कृति पार्टीले अनुसन्धान निष्कर्ष आएपछि मात्रै थप निर्णय लिइने स्पष्ट गर्दै, सम्बन्धित निकायलाई निष्पक्ष ढङ्गले अनुसन्धान अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्