मोरङ, बेलबारी । मोरङको बेलबारी नगरपालिका-२ सिंहदेवीमा बिहानै भएको एक दर्दनाक घटनामा आफ्नै परिवारकी भतिजी बुहारीद्वारा विष खुवाइ एक वृद्धाको मृत्यु भएको छ ।
मङ्सिर २० गते बिहान करिब ८ बजे, वर्ष ७० का भक्तबहादुर राई र उनकी श्रीमती वर्ष ७७ की इन्द्रमाया राईलाई घरमै खानेकुरामा विष खुवाइएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । विष खुवाएको आरोप अन्दाजी ३२ वर्षकी भतिजी बुहारी सुनिता कार्कीमाथि लागेको हो ।
विष खुवाएपछि सुनिता कार्की फरार भएकी थिइन् । स्थानीयले दम्पतीलाई बेहोस अवस्थामा देखेपछि दिउँसो ३ बजे विराटनगरको नोबेल अस्पताल पुर्याएका थिए । तर गम्भीर अवस्थामा उपचार भइरहेको इन्द्रमाया राईको राति १० बजे मृत्यु भयो । भक्तबहादुर राईको उपचार जारी छ ।
घटना बाहिरिएपछि फरार रहेकी सुनिता कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीले केही घण्टामै नियन्त्रणमा लिएको छ। उनलाई पक्राउ गरी जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप लिएर विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।


