बेलबारीमा विद्युतीय चार्जिङ स्टेसनसहित नगर बस सेवा औपचारिक रूपमा सञ्चालन : विद्यार्थी र जेष्ठ नागरिकलाई निःशुल्क सुविधा


बेलबारी । बेलबारी नगरपालिकाले लामो प्रतीक्षापछि सोमबारदेखि नगर बस सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नगर प्रमुख दिल प्रसाद राई तथा उपप्रमुख नितु थापाले संयुक्त रूपमा उद्घाटन गरेसँगै सेवा औपचारिक रूपमा सुरु भएको हो ।

बेलबारीदेखी विद्युतीय चार्जिङ स्टेसन ढाडा पर्ने भएको कारण स्टेसन निर्माणमा ढिलाइ हुँदा बस सञ्चालन केही समय पछाडि धकेलिएको नगर प्रमुख राईले स्पष्ट गर्दै नगरवासीसँग क्षमायाचनासमेत गरे । करिब १ करोड ३१ लाख रुपैयाँको लागतमा विद्युत् बस तथा चार्जिङ प्रणाली स्थापनासहित परियोजना अघि बढाइएको उनले जानकारी दिए ।

नगरपालिकाले सार्वजनिक यातायातलाई व्यवस्थित, पारदर्शी र एकरूप बनाउने, यात्रुहरूलाई सहज र सुरक्षित सेवा प्रदान गर्ने तथा दैनिक आवत-जावतमा खर्च कम गराएर बचत अभिवृद्धि गर्नका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । विद्यार्थी तथा जेष्ठ नागरिकका लागि विशेष सुविधा व्यवस्था गरिएको छ । ७० वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिक तथा परिचयपत्र बोकेका विद्यार्थीले दुवै रुटमा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरिएको हो । साथै, बेलबारी बहुमुखी क्याम्पसका विद्यार्थीलाई क्याम्पस आवतजावतका लागि मंगलबारदेखि पूर्ण रूपमा निःशुल्क बस सुविधा प्रदान गरिने प्रमुख राईले जानकारी दिएका छन् ।

नगरपालिकाले दुवै रुटका लागि भाडादर पनि सार्वजनिक गरेको छ । ‘बेलबारी-भाउन्ने हुँदै बाहुनी बजार’ रुटमा भाडा १५ रुपैयाँदेखि ४० रुपैयाँसम्म रहनेछ भने ‘बेलबारी-लक्ष्मीमार्ग हुँदै कान्छीचोक’ रुटमा १० रुपैयाँदेखि ५० रुपैयाँसम्म निर्धारण गरिएको छ । नगरभित्रका छोटो दुरीका यात्रुहरूका लागि १० रुपैयाँको ‘लोकल’ भाडादर लागू हुनेछ ।

सेवा सुरु भएसँगै नगरपालिका यातायात व्यवस्थापन, सेवा गुणस्तर र भाडादर अनुगमनमा कडा निगरानी राख्ने तयारीमा छ । भविष्यमा माग र आवश्यकता अनुसार रुट विस्तार खुला राखिएको छ । बेलबारी नगरपालिकाद्वारा सुरु गरिएको नगर बस सेवा स्थानीय सरोकार, यातायात व्यवस्थितीकरण र सामुदायिक सुविधाको दृष्टिमा एक महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्