कानेपोखरी । मोरङको कानेपोखरी–३ सलबले चोकमा निर्माण गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र आइतबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव तथा जग्गादाता मोहन प्रसाद खतिवडाले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो ।
स्थानीयवासी मोहनप्रसाद खतिवडाले ५ कट्ठा निःशुल्क जग्गा दान गरेपछि सो स्थानमा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएको हो । प्राविधिक कारणले सेवा सञ्चालनमा केही ढिलाइ भए पनि अब केन्द्रबाट वडावासीले सहज रूपमा स्वास्थ्य सेवा पाउने पालिका अध्यक्ष राजमती इङ्गनामले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित बनाउन घेराबारा, गेट निर्माण तथा कर्मचारी व्यवस्थापनका लागि बजेट प्रक्रिया अघि बढाइएको छ ।
जग्गादाता खतिवडाले आफ्नै पिता उपचार अभावमा ज्यान गुमाएको पीडाले प्रेरित भई स्थानीयका लागि स्वास्थ्य सुविधा उपलब्ध गराउन जग्गा दान गरेको बताउनुभयो । उहाँले आवश्यक परे भविष्यमा पनि सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य सेवा केन्द्र संघीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रु ५२ लाख ३ हजार ३६७ लागतमा भीमेश्वर कन्स्ट्रक्सन, विराटनगरले निर्माण गरेको हो ।
उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष गोपालबहादुर कार्की, जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थिति थियो ।


