काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारद्वारा गरिएको दुर्गा प्रसाईँको पक्राउलाई स्वेच्छाचारी कदम ठहर गर्दै तत्काल रिहाइको माग गरेका छन् । काठमाडौँमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाए ।
ओलीका अनुसार प्रसाईँलाई दिउँसो सार्वजनिक गरिएको एक भिडियोको कारण रातारात पक्राउ गरिएको तथ्य नै सरकारले डर देखाएको प्रमाण हो । उनले भने, “दुर्गा प्रसाईँलाई दिउँसो भिडियो निकालेर बेलुका समातियो। सरकारले त्यस भिडियोको जवाफ दिन नसकेर गिरफ्तारी गरेको देखिन्छ । के त्यो भिडियोको जवाफ प्रधानमन्त्री वा गृहमन्त्रीसँग छ ?”
मानव अधिकार आयोगले पनि केवल ‘बोलेकै भरमा’ कसैलाई थुन्न नपाइने स्पष्ट रूपमा बताइसकेको उल्लेख गर्दै ओलीले सरकारको कदमलाई ‘गलत मनोवृत्तिको अभिव्यक्ति’ भने । उनका अनुसार प्रसाईँले भिडियोमार्फत वास्तविक मुद्दा तथा तर्कसंगत प्रश्न मात्र उठाएका थिए ।
प्रधानमन्त्री तथा गृहमन्त्रीलाई प्रत्यक्ष चुनौती दिँदै ओलीले सवाल उठाए, “प्रश्न उठाउनेहरूलाई थुन्ने काम कस्तो लोकतन्त्र हो? दुनियाँ शोकमा भइरहेको बेला सरकार भने षड्यन्त्रमै व्यस्त देखियो । प्रसाईँले देखाएको त आफ्नै भिडियो हो, अपराध के भयो ?” ओलीले रातारात गरिएको गिरफ्तारी प्रक्रियालाई ‘तमासा’ र ‘स्वेच्छाचारी अभ्यास’ को संज्ञा दिँदै भने, “यदि गिरफ्तारी गर्नै थियो भने बिहान गरिदिए हुन्थ्यो। राति राति मुद्रा देखाएर मानिस समात्नु लोकतान्त्रिक संस्कार होइन ।”
उनका अनुसार अभिव्यक्ति स्वतन्त्रताको आधारमै कसैलाई थुन्ने प्रवृत्ति राज्यसत्ताको दुरुपयोग हो र यस्तो कार्य लोकतन्त्रको मूल्य-मान्यतामाथि चोट पुर्याउनेखालको छ ।


