जिल्ला बचत तथा ऋण सहकारी संघ, मोरङको ३२औँ वार्षिक साधारण सभा


मोरङ । जिल्ला बचत तथा ऋण सहकारी संघ, लि. मोरङको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बेलबारी नगरपालिका–३ स्थित संघकै कार्यालय भवनमा साधारण सभा सम्पन्न भएको हो ।

प्रमुख अतिथिका रूपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी थिए । त्यससँगै नेफ्स्कुनका सञ्चालक लक्ष्मी सापकोटा, प्रदेश सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डिल्ली पोखेल, प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिप्रसाद सुवेदी, संघका सल्लाहकार तथा पूर्व सञ्चालक ताराबहादुर काफ्ले, ‘सहकारी व्यक्तित्व सम्मान’ प्राप्त गोमा नेपाल, संघका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गौतम, पूर्व अध्यक्ष सोमनाथ निरौला, सहकारी सञ्जाल बेलबारीका अध्यक्ष दुर्गा गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाको अध्यक्षतामा सुरु भएको थियो, जसको सञ्चालन सचिव जीवन बस्नेतले गरेका थिए ।

अध्यक्ष कोइरालाले सहकारी क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएको तरलता संकट, ऋण असुलीको चुनौती, महामारी र अन्तर्राष्ट्रिय आर्थिक अस्थिरताका कारण सहकारी व्यवसाय जोखिमपूर्ण बन्दै गएको विशद रूपमा उल्लेख गरे । “सहकारी सदस्यको भरोसा नै हाम्रो शक्ति हो, त्यसैले पारदर्शिता, जिम्मेवारी र लागत–संयमित कार्यक्रम अनिवार्य छन्,” कोइरालाले भने ।

सचिव बस्नेतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनले संघले मोरङका २६० बचत तथा ऋण सहकारी संस्थाहरूलाई समन्वय, मार्गनिर्देशन, अनुगमन तथा क्षमता विकासका विविध कार्यक्रममार्फत सुदृढ बनाउँदै आएको देखायो । उहाँले आगामी वर्ष दिगो साकोस अभियान, डिजिटालाइजेसन, सदस्य संस्थाको जोखिम व्यवस्थापन र वित्तीय अनुशासन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताए । कोषाध्यक्ष डि.बि. थापाले प्रस्तुत गरेको वित्तीय प्रतिवेदन र आगामी वर्षको बजेट पनि सर्वसम्मत पारित गरियो ।

लेखा सुपरिवेक्षण संयोजक बीना राईले नियमित सुपरिवेक्षणका आधारमा सहकारीहरूको वित्तीय अनुशासन, स्तरीकरण तथा आन्तरिक व्यवस्थापन सुधारबारे सुझाव राखिन् । लेखा परीक्षक राजेन्द्रप्रसाद सुवेदीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन, आगामी वर्षका लागि लेखा परीक्षकको मनोनयन तथा विभिन्न वित्तीय प्रतिवेदनहरू सर्वसम्मत पारित गरिए ।

साधारण सभामा यस वर्ष पनि उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरू र संस्थालाई सम्मान गरियो । नेफ्स्कुनका पूर्व सञ्चालक गोमा नेपाललाई ‘सहकारी व्यक्तित्व सम्मान’ प्रदान गरियो । पूर्व सञ्चालक इच्छा कोइराला र गंगाकुमार यादवलाई ‘पूर्व सञ्चालक सम्मान’ दिइयो । यसै गरी महिला उत्थान साकोस उर्लाबारी र बेतना साकोस बेलबारी–३ लाई संस्थागत स्तरको उत्कृष्टताका लागि सम्मानित गरियो । कर्मचारीतर्फ लोकेन्द्र काफ्ले र दुर्गादेवी पौडेलले उत्कृष्टता सम्मान पाए ।

कार्यक्रमका विशेष अतिथिहरूले सहकारी क्षेत्रले भोगिरहेका चुनौती, नियमन, पारदर्शिता र डिजिटालाइजेशनबारे महत्त्वपूर्ण धारणा राखे । प्रमुख अतिथि चन्द्रप्रसाद ढकालले सहकारीले प्रतिस्पर्धी वित्तीय संस्था जस्तै व्यापारिक लक्ष्यभन्दा पनि सदस्य हितलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै संरचनागत सुधार, जोखिम व्यवस्थापन र सुशासनका उपायहरूलाई थप कडाइका साथ लागू गर्नुपर्ने बताए । “सहकारीले सदस्यलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य नछाडेसम्म सहकारी आन्दोलन बलियो रहन्छ,” उनले भने ।

कार्यक्रमको दोस्रो सत्रमा संघका अध्यक्ष कोइरालाले गणपुरक संख्या घोषणा गर्दै प्रतिवेदन, बजेट, विनियम संशोधन, वित्तीय निर्णय, लेखा परीक्षक नियुक्तिजस्ता महत्त्वपूर्ण विषयहरू निर्णयका लागि प्रस्तुत गर्दा सबै प्रस्तावहरू सर्वसम्मत पारित भए । जिल्ला बचत तथा ऋण सहकारी संघ, मोरङको इतिहास २०५१ साल वैशाख २४ गतेबाट सुरु भएको हो । संघले हालसम्म २१२ भन्दा बढी तालिम तथा गोष्ठीमार्फत सदस्य संस्थामा नेतृत्व विकास, आर्थिक सशक्तीकरण र सुशासन प्रवर्द्धन गर्दै आएको छ । संघसँग हाल १७ जना सञ्चालक, विराटनगरमा १ सेवा केन्द्र र ५ कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्