श्री सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको २२ाैं वार्षिक साधारणसभा सम्पन्न

मोरङमा उत्कृष्ट प्रथम हुने सफलतामा उपभोक्ता एकतालाई श्रेय


बेलबारी । श्री सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह, बेलबारी–८को २२औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । शनिवार समूहको कार्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।

समूहका अध्यक्ष लक्ष्मण तामाङको अध्यक्षतामा भएको साधारणसभामा वन संरक्षण, सामाजिक विकास तथा आगामी वर्षका लक्ष्यबारे विस्तृत समीक्षा गरे । साथै अध्यक्ष तामाङले सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह मोरङ जिल्लाको १४१ सामुदायिक वन उपभोक्ता समूहमध्ये उत्कृष्ट प्रथम बन्न सफल भएको जानकारी पनि गरे ।

साधारणसभाका प्रमुख अतिथि तथा बेलबारी नगरप्रमुख दिलप्रसाद राईले सिंहदेवी वन उपभोक्ता समूहलाई जिल्लामै प्रथम हुन सफल भएकोमा बधाई दिँदै समूहको अनुशासन, पारदर्शिता र उपभोक्ताबिचको सहकार्यले आजको सफलता सम्भव भएको बताए । उनले भने, “१४१ समूहमध्ये प्रथम बन्नु सजिलो कुरा होइन । धेरै सामुदायिक वनहरू मुद्दाको चपेटामा छन्, तर सिंहदेवी समूहले एकता, जिम्मेवारी र सामूहिक प्रतिबद्धताले उदाहरण स्थापित गरेको छ ।”

नगरप्रमुख राईले बेलबारीका विभिन्न सामुदायिक वन क्षेत्रमा हात्तीको बढ्दो आवागमनलाई व्यवस्थापन गर्न हात्ती–मैत्री वातावरण निर्माण गर्न सोही अनुसारको कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सबै वन समूहले सामूहिक योजना बनाउनुपर्ने सुझाव दिए ।

समूहको उपलब्धि र आगामी लक्ष्य

अध्यक्ष तामाङले समूहले मोरङ जिल्लामा प्रथम हुँदै अब गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गर्ने लक्ष्य राखेको बताउँदै उपभोक्ताहरूको निरन्तर सहयोग र सुझावका लागि धन्यवाद दिए । समूहको स्थापना २०५६ सालमा ३५ सदस्यीय तदर्थ समितिबाट सुरु भएको थियो भने अहिले १,३४१ घरधुरी यसमा आबद्ध छन् । समूहको २७८.७५ हेक्टर वन क्षेत्र व्यवस्थापनमा राखिएको छ ।

तामाङले वार्षिक लक्षित कार्यक्रम प्रस्तुत गर्दै काठ, दाउरा, घाँस, सालका बीउ, वृक्षारोपण, मिचाहा झार नियन्त्रण, मचान निर्माण, आगलागी तथा विपद् पीडित सहयोग, स्वास्थ्य बिमा, खेलकुद तथा शिक्षा क्षेत्रमा सहयोगलगायतका कार्यक्रम निरन्तर चलाइने बताए । समूहले प्रस्तावित २०८२/८३ का लकडी तथा दाउरा बिक्री दररेट, उपभोक्ता समावेशी योजना, वृक्षारोपण, प्राकृतिक पुनरुत्पादन, हात्ती अवलोकन मचान निर्माण, बाँस रोपणदेखि गरेर चिसाङ खोला किनार संरक्षण अभियानलाई पनि रणनीतिक रूपमा अघि सारिएको छ ।

सचिव विमल लिम्बुका अनुसार समूहको चाल आर्थिक वर्षमा रु. ६७ लाख ८७ हजारको कारोबार भएकोमध्ये रु. ६६ लाख ९८ हजार खर्च भएको र रु. ८९ हजार रकम बचत रहेको छ । समूहले वृक्षारोपण, घेराबार, झाडी सफाइ, प्राकृतिक पुनरुत्पादन, खयर बीउ छर्ने, बाँस रोपण, वन्यजन्तु–मैत्री सिँढी निर्माण, विपन्न घरपरिवारको स्वास्थ्य बिमा, विद्यालयलाई शैक्षिक सामाग्री सहयोग, छात्रवृत्ति वितरण लगायतका महत्त्वपूर्ण कार्यक्रमहरू सम्पन्न गरेको छ ।

साधारणसभामा सव–डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दीपेश मिश्र, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य रोहिणीप्रसाद गौतम, सल्लाहकार संयोजक सम्बरबहादुर तामाङसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा सदस्य उर्मिला राईले स्वागत मन्तव्य राखेकी थिइन् भने उद्घोषण सचिव लिम्बुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्