काठमाडौँ । मनाङमा गत कात्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय नागरिकको शव हिउँले पुरिएको अवस्थामा फेला परेको छ। सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको टोलीले आइतबार दिउँसो ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाइ पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव फेला पारेको हो।
सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मृतक दुवै बाबु–छोरी हुन्। उनीहरू मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटेलमा बसोबास गर्दै आएका थिए। कात्तिक ३ गते मिलारेपा गुम्बा घुम्न निस्किएपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
उनीहरू हराएको जानकारी होटेल व्यवस्थापनले तत्काल सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई गराएको थियो। प्रारम्भिक खोजतलासमा उनीहरू नभेटिएपछि कात्तिक २३ गते नायब उपरीक्षक हिरा बहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहितको माउन्टेन रेस्क्यु टोली खटाइएको थियो।
उक्त टोलीले विस्तृत खोजीका क्रममा मिलारेपा गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ। हाल शवलाई घटनास्थलबाट तल झार्ने काम भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।


