काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले हामी नेपालका संयोजक सुधन गुरुङको नागरिकताको विषयमा छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले नागरिकताको सत्यता ७ दिनभित्र सार्वजनिक गर्नुपर्ने चेतावनीसमेत दिएको छ ।
संघका प्रवक्ता निरोज पौडेलका अनुसार संघको पदाधिकारी बैठकले गुरुङको नागरिकता सम्बन्धी विषयमा स्पष्टता आवश्यक रहेको निष्कर्ष निकालेको हो । उनले भने, “सुधन गुरुङको नागरिकता सक्कली हो कि नक्कली, यसको सत्यता सरकारकै तर्फबाट छानबिन भई एक साताभित्र सार्वजनिक हुनुपर्छ। यदि सरकारले चुपचाप बस्ने हो भने, हामी आफैँ अनुसन्धान गरी प्रहरीमा जिम्मा लगाएर कानुनी प्रक्रियामा अघि बढाउनेछौँ ।”
बैठक अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकले संगठन सुदृढीकरण र आगामी रणनीतिबारे समेत छलफल गरी विभिन्न निर्णयहरू गरेको संघले जनाएको छ ।
त्यस्तै, बैठकले हालैको जेनजी आन्दोलनका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेको क्षतिप्रति संवेदना जनाउँदै, उक्त घर नयाँ निर्माण गर्नका लागि अभियान सुरु गर्ने निर्णय गरेको छ । अभियानको सुरुवात तेह्रथुमको आठराईबाट गर्ने संघले जनाएको छ ।


