मोरङमा सिटी सफारीबाट ३० किलो गाँजा बरामद : चालक फरार


मोरङ । मोरङको विराटनगर महानगरपालिका–१८ वडा कार्यालय नजिक सोमबार दिउँसो प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा ठुलो परिमाणमा गाँजा बरामद भएको छ । घटनास्थलबाट सिटी सफारी चालक भने फरार छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८२ असोज २७ गते दिउँसो करिब ४:३० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले ICP सडक खण्डतर्फ जाँदै गरेको सिटी सफारी (रे. नं. प्र.१-०२-००४ ह ८२७०) लाई चेकजाँचका लागि रोकेको थियो । प्रहरी टोलीलाई देख्नासाथ चालक सवारीसहितको बाटोमै सिटिसफारी छाडी फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सवारीसाधनको तलासी गर्दा सिटिसफारीको भित्री भागमा लुकाइ-छिपाइ राखिएको करिब ३० किलो गाँजा फेला पारेको हो । बरामद गरिएको सिटी सफारीसहितको गाँजा तत्काल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा पठाइएको प्रहरीले जनाएको छ । हाल फरार चालकको पहिचान खुल्ने प्रयास भइरहेको र उनको खोजी तीव्र रूपमा जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्