सुनसरी । सुनसरी प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। इनरुवा नगरपालिका–४ बसपार्क चोकस्थित क्षेत्रमा प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा उनको साथबाट करिब दुई सय ग्राम ब्राउन सुगर फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३३ वर्षीय कृष्णकुमार मेहता रहेका छन्। असोज २४ गते साँझ ७ बजे जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी बसपार्क इनरुवाबाट खटिएको संयुक्त टोलीले मेहतालाई शंकास्पद रूपमा देखी शरीर र साथमा रहेको झोलाको तलासी लिँदा १ सय ९७ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।
लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका मेहतामाथि लागूऔषध (नियन्त्रण) ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि सो ब्राउन सुगर अवैध कारोबारका लागि ल्याइएको हुनसक्ने अनुमान गरेको छ। सुनसरीमा पछिल्ला दिनमा प्रहरीले लागूऔषध कारोबार नियन्त्रणमा विशेष अपरेसन सञ्चालन गर्दै आएको छ।