सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ


सुनसरी । लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएर प्रहरीले सुनसरीको कोशी गाउँपालिका–१ बाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकहीको टोलीले विशेष सूचनाको आधारमा असोज २३ गते साँझ ६ बजे सञ्चालन गरेको गोप्य अपरेसनका क्रममा ती दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय सनम श्रेष्ठ र कञ्चनपुर भिमदत्त नगरपालिका–६ की २० वर्षीया निरा चुनारा रहेका छन्। प्रहरीका अनुसार शंकास्पद रूपमा फेला परेका दुवै जनाको शरीर तथा साथमा रहेको झोलाको चेकजाँच गर्दा १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।

लागूऔषध नियन्त्रण ऐनअन्तर्गत नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्