सुनसरी–मोरङमा लागू औषधसहित दुई जना पक्राउ : सयौँ किलो गाँजा र हजारौँ क्याप्सुल बरामद


विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट ठुलो परिमाणमा लागू औषध बरामद भएको छ । प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको संयुक्त अभियानमा दुई जनालाई पक्राउ गर्नुका साथै सयौँ किलो गाँजा र हजारौँ क्याप्सुल नियन्त्रणमा लिइएको छ ।

सुनसरीको धरान–४ स्थितबाट असोज १२ गते कोशी प्रदेश प्रहरी कार्यालय पि.आई.टी, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले विशेष अपरेसन सञ्चालन गर्‍यो । उक्त अपरेसनमा प्लास्टिकको बोरामा प्याक गरी राखिएको २ सय ७५ किलो गाँजा फेला पर्नुका साथै धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिवसन राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, कोशी गाउँपालिका–५ मा अस्थायी प्रहरी पोष्ट कटानले बेवारिसे अवस्थामा रहेको ४७ किलो गाँजा बरामद गरेको छ । मोरङको भोक्राहानरसिंह गाउँपालिका–२ मा भने प्रहरी चौकी भोक्राहाले ६ हजार ८ सय ६० क्याप्सुल बराबरका ६८६ पत्ता ट्रामाडोल बरामद गरेको छ ।

यस्तै विराटनगर–११ मा वडा प्रहरी कार्यालयले सञ्चालन गरेको चेकजाँचमा उदयपुर चौदण्डीगढी गाउँपालिका–४ की २१ वर्षीया इसिका मगरलाई पक्राउ गरिएको छ । उनको साथबाट ४२ क्याप्सुल ट्रामाडोल र ६ ट्याब्लेट डिकोलिक फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्