सुनसरीमा १८ बोरा गाँजा बरामद, सिराहामा दुई महिला पक्राउ


सुनसरी । लागू औषध नियन्त्रणको अभियानलाई सुदृढ पार्दै प्रहरीले सुनसरी र सिराहाबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । सुनसरीको कोशी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्ग किनारामा बेवारिसे अवस्थामा फेला परेको १८ बोरा गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

चाडपर्वलाई लक्षित गरी गरिएको विशेष सुरक्षा गस्तीका क्रममा असोज १२ गते राति करिब २ बजेतिर अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले ६ सय ३७ किलो ४५ ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गाँजा प्लास्टिकका बोरा भित्र प्याक गरी राखिएको अवस्थामा फेला परेको थियो। प्रहरीले गाँजा बरामदसँगै यसको ओसार-पसारमा संलग्न व्यक्तिहरूको पहिचान र खोजतलास सुरु गरेको छ ।

यसैबिच, उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको टोलीले सिराहा जिल्लामा चेकजाँच गर्ने क्रममा दुई महिलालाई गाँजासहित नियन्त्रणमा लिएको छ । लहान नगरपालिका-१७ की लीला देवी रामलाई ६ किलो ८४६ ग्राम गाँजासहित र लहान नगरपालिका-८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरिएका सबै लागू औषधलाई आवश्यक प्रक्रिया पूरा गरी जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ । चाडपर्वको समयमा लागू औषधको ओसार-पसार र अवैध कारोबार बढ्ने भएकाले कडाइका साथ निगरानी र कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्