लेटाङ नगरपालिकाको चाडपर्वमा सचेतना अपिल : चोरी, ठगी र कालोबजारीबाट जोगिन आह्वान


लेटाङ । आसन्न दशैँ–तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै लेटाङ नगरपालिकाले नगरवासीलाई सचेत रहन आग्रह गरेको छ । चाडपर्वका बेला चोरी, लुटपाट, ठगी, कालोबजारी तथा अन्य असहज अवस्था आउन सक्ने भन्दै नगर प्रमुख भूपेन्द्रकुमार लावतीले सम्पूर्ण नगरवासीलाई सजग रहन र सुरक्षामा सहयोग पुर्‍याउन अनुरोध गरेका हुन् ।

नगरपालिकाले सामाजिक सञ्जालमा बढ्दो एआई डिपफेक तथा वित्तीय ठगीका कारण गलत सूचना फैलिने सम्भावना देखिएको भन्दै सूचनाको स्रोत यकिन गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ । साथै चाडपर्वलाई संस्कारको रूपमा मनाउनुपर्ने, अनावश्यक फजुल खर्च नगर्नुपर्ने र कालोबजारी नियन्त्रणमा उद्योग वाणिज्य संघ लगायत सबै पक्षले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने सन्देश दिएको छ ।

यस्तै, नगरक्षेत्रमा मेला–महोत्सव तथा होटेल व्यवसाय तोकिएको समयसम्म मात्र सञ्चालन गर्न, ध्वनि प्रदूषण नगर्न, र सम्भावित विपद् जस्तै बाढी, पहिरो, हावाहुरी तथा डेंगी रोगबाट बच्न स्थानीय तहमा सचेतना फैलाउन समेत नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइसराइ र सम्बन्ध विच्छेद) ३५ दिनभित्र निःशुल्क हुने जानकारी दिँदै सबैलाई समयमा दर्ता गर्न आह्वान गरेको छ । साथै आमाबुबा विहीन बालबालिकाको शिक्षा सुनिश्चितताका लागि नगरपालिका अभिभावक बनेको भन्दै छरछिमेकमा त्यस्ता बालबालिका भए जानकारी दिन पनि आग्रह गरिएको छ ।

नगरपालिकाले वडा नं. १, ७ र ८ को पहाडी क्षेत्रमा जन्मिने सबै बालिकाका लागि सञ्चालन गरिएको “बालिका शैक्षिक बचत कार्यक्रम”बारे पनि सरोकारवालाहरूलाई जानकारी दिन नगरवासीलाई अनुरोध गरेको छ ।

नगर प्रमुख लावतीले राजस्व संकलनमा सक्रियता देखाएर नगर विकासमा सहयोग गर्न, प्राकृतिक सम्पदाको चोरी निकासीमा संलग्न नहुन, टोल–छिमेकमा श्रममूलक कार्यमा आफैँ अग्रसर हुन र सफाइलाई प्राथमिकता दिन सबैलाई आह्वान गरेका छन् ।

दशैँ–तिहार लगायत आउँदै गरेका चाडपर्वको अवसरमा नगरवासीको सु–स्वास्थ्य, दीर्घायु, उन्नति र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै नगरपालिकाले सहकार्य र सकारात्मक सल्लाहसुझावका साथ समृद्ध नगर निर्माणमा सहभागी हुन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्