‘हामी नेपाल’सँगको सम्बन्धबारे अनर्गल प्रचारमा आपत्ति, बारबरा फाउन्डेसनको स्पष्टीकरण


काठमाडौं । बारबरा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले ‘हामी नेपाल’ नामक संस्थासँग फाउन्डेसनको नाम जोडेर भइरहेको भ्रामक प्रचारप्रति आपत्ति जनाउँदै सो संस्थासँग हाल कुनै आर्थिक वा कार्यक्रमगत सम्बन्ध नभएको स्पष्ट पारेका छन् ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रुइतले जेनजी आन्दोलनका सन्दर्भमा फाउन्डेसनलाई अनावश्यक तबरले विवादमा तानिएको भन्दै आपत्ति जनाए । उनले भने, “कोभिड महामारीको कठिन समयमा ‘हामी नेपाल’सँग सहकार्य भएको हो, तर विगत एक वर्षदेखि हामीले कुनै पनि सहकार्य गरेका छैनौँ । हाल सो संस्था वा पदाधिकारीसँग हाम्रो कुनै आर्थिक सम्बन्ध छैन ।”

उनले नागरिकलाई मूल मुद्दाबाट भड्काउने उद्देश्यले फाउन्डेसनमाथि चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाए । पत्रकार सम्मेलनमा फाउन्डेसनले आफ्नो वित्तीय स्थिति पनि सार्वजनिक गरेको थियो । विगत आठ वर्षमा ७ करोड ८२ लाख रुपैयाँ प्राप्त भएकोमा हाल करिब ३ करोड ९५ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले आन्दोलनका लागि ‘हामी नेपाल’ संस्थालाई आर्थिक सहयोग गरेको भन्ने प्रचारमा कुनै सत्यता नभएको प्रष्ट पार्दै नागरिकलाई भ्रममा नपर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्