विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताएका छन् । आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने बताए । प्रदेशको सामर्थ्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै कार्कीले भने – ‘यसबाट संवृद्धि हासिल गर्न सकिन्छ ।’
पर्यटनबाट विकास संवृद्धि हासिल गर्न सकिने भएकाले विरोध र कालो झण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने – ‘अब वार्ता र संवादबाट सबै कुरा हल गर्दै पर्यटन प्रवर्द्धनमा लागौँ ।’ सो कार्यक्रममा स्विस सरकारकी राजदूत डा. डेनियल म्युउल्यी (Dr. Danielle Meuwly ) ले पदमार्गमार्फत आर्थिक उन्नति, रोजगारी र अवसरहरू खोजी हुने बताउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउनका लागि स्विस सरकार नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढेको बताए ।
कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई ध्यानमा राखेर स्विस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको हो । स्विस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ ।
यो परियोजना अन्तर्गत चियाबारी पदमार्ग (इलाम फिक्कल श्रीअन्तु ), फाल्गुनन्द पदमार्ग ( फिदिम, छिन्ताप्पु, सन्दकपुर, माइपोखरी, इलाम ) लालीगुराँस पदमार्ग ( तुम्लिङटार, खादबारी, नुम गुफा पोखरी, वसन्तपुर, जलजले, तीनजुरे, मिल्के) र मुन्धुम पदमार्ग (तावाभञ्ज्याङ, ट्याम्केडाँडा, चखेवा, डालसिंगे, धोत्रे, जलजले, हाँसपोखरी, मयुङ्डाँडा) रहेका छन् । कोशी प्रदेश सरकारका अनुसार यो पदमार्ग परियोजनाले कोशी प्रदेशको संवृद्धि र विकासका लागि सहयोग पुग्ने छ ।
कोशी प्रदेश सरकारका वन वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डलले यो परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । स्विस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ ।


