मोरङ, २ साउन । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै चक्कु प्रहार भएको छ । दिउँसो अन्दाजी पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको बताइएको छ । केराबारी वडा नम्बर १० का भुवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेका थिए ।
अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले बताए । केराबारी गाउँपालिकाका प्रवक्ता जगराज खवासका अनुसार पटके सवारी कर म्याद थप गर्ने विषयको विवाद रहेको थियो ।
लकडाउनको कारण ठकुरी आफूले लिएको पटके सवारी ठेक्काको म्याद थप गर्न अध्यक्ष कार्कीलाई अनुरोध गरेका थिए । तर कार्यपालिकाले म्याद नथप्ने निर्णय गरे पछि सोही कारण ठकुरीले आक्रोशमा चक्कु प्रहार गरेको प्रवक्ता खवासले बताएका छन् । प्रहरीले भने यस घटना बारे थप अनुसन्धान गरी रहेको बताएको छ । कार्कीलाई उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल लगिएको छ ।
https://youtu.be/FsNi3e-LN-8