मोरङ, २१ असार । बेलबारी नगरपालिका वाड नं. ४ का अध्यक्ष राम कुमार राईले आफ्नो वडा भित्र अन्तर्राष्ट्रिय स्तरको खेलमैदान बन्दै गरेको बताएका छन् । निर्माणाधीन बेतना खेल मैदान स्टेडियमसहितको अन्तर्राष्ट्रिय स्तरको हुने वडा अध्यक्ष राईले बताएका हुन ।
प्रदेश नं. १ का सांसद राजकुमार ओझाको क्षेत्र विकास कोष रु.१० लाखको सहयोगमा बेतना खेल मैदान निर्माण कार्य भइरहेको छ । बेतना खेल मैदान निर्माण कार्यमा बेलबारी नगरपालिका तथा वाडको पनि आर्थिक सहयोग रहेको अध्यक्ष राईले बताएका छन् । कुल रु.२२ लाखमा अहिले खेल मैदानमा स्टेडियम निर्माण कार्य भइरहेको छ ।
जिमहल तथा स्टेजसहितको स्टेडियम निर्माण भइरहेको अध्यक्ष राईले जनाएका छन् । बेलबारी नगरपालिकाद्वारा गरिएको अनुगमनबाट पनि बेलबारीकै एक उत्कृष्ट स्टेडियम तयार हुँदै गरेको उपप्रमुख ढाका कुमारी पराजुलीले बताएकी छन् ।
अनुगमन समितिका सदस्य तथा वाड नं. १ का सदस्य बिन्दकला गुरुङले अनुगमनका क्रममा बेतना खेल मैदान स्टेडियम निर्माण कार्यको प्रशंसा गरेकी छन् । उनले भनिन, ‘बेतना खेल मैदानमा एक उत्कृष्ट स्टेडियम निर्माण हुदैछ ।’ अन्य ठाउँको अनुगमनका क्रममा केही त्रुटि भेटिएको तर सुधार गर्न आग्रह गर्दा सुधार गरेको पनि गुरुङले बताइन ।
बेलबारीमा सञ्चालनमा रहेको विकास निर्माण कार्य योजना निरन्तर रूपमा उपप्रमुख ढाका कुमारी पराजुलीको नेतृत्वमा अनुगमन भइरहेको छ । बेलबारी वाड नं.४ स्थित केसलीया खोला, हरि बहादुर बस्नेत खबतरी बस्नेत पुजास्थल पुर्वपटी रहेको निर्माणाधीन तटबन्धनको शुक्रवार गरिएको अनुगमनमा पनि मौसमको कारणले केही त्रुटि देखिएता पनि उपभोक्ता समितिले धेरै राम्रो काम गरेको पाइएको गुरुङले बताएकी छन् ।
उक्त तटबन्धन कुल लागत रु.११ लाख १३ हजार ४२ मा निर्माण हुँदै गरेको उपभोक्ता समितिले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको क्षेत्र विकास कोषबाट रु.१० लाख सहयोग रहेको छ । रु.१ लाख १३ हजार ४३ स्थानीयको जनसहभागिता सहयोग रहेको उपभोक्ता समितिले जनाएको छ ।
खबतरी बस्नेत पुजास्थलका संस्थापक तथा स्थानीय हरि बहादुर बस्नेतका अनुसार तटबन्धन पछि वर्षेनी केसलीया खोलाको बढीले जमिन कटान गर्ने समस्याको समाधान भएको छ । बस्नेतले मन्त्री ढकाललाई धन्यवाद पनि प्रदान गरेका छन् ।