“आफ्नो क्षेत्रमा हुने कुनै पनि विकास कार्य योजना कमजोर हुन दिन्न” : सांसद ओझा


सुन्दरहरैचा, १४ असार । प्रदेश तथा सङ्घीय सरकारको आर्थिक सहयोगमा आफ्नो क्षेत्र भित्र सञ्चालित कुनै पनि योजना केही गरी पनि कमजोर हुन नदिने सांसद राजकुमार ओझाले बताएका छन् । शनिवार सुन्दरहरैचा नगरपालिकामा ओझाको पहलमा प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित विकास कार्य योजना अनुगमन गर्दै सो कुरा बताएका हुन ।

ओझाले सुन्दरहरैचा वाड नं.९, १० र ११ मा अनुगमन गरेका छन् । स्थलगत अनुगमन गर्नुको साथै जनतासँग प्रत्यक्ष भेटघाट गर्दै जनगुनासो तथा उपलब्धिबारे ओझाले कुराकानी पनि गरेका थिए । कुनै कामहरू ८० प्रतिशत सकिसकेको र कुनै २० प्रतिशत मात्र सकिएको अनुगमनको क्रममा पाएको ओझाले जनाएका छन् ।

बाकी थप योजनाहरू कार्यान्वयन गर्नको लागि प्रदेश नं. १ सरकारको तर्फबाट, भौतिक पुर्वधार मन्त्रालयको तर्फबाट केही बजेट विनियोजन गर्ने काम भएको उनले बताएका छन् । उनले भने, ‘आफ्नो क्षेत्र भित्र विकास कार्य योजना निरन्तर रहने छ ।’

कोभिड १९ को कारण केही समय काममा अवरोध भए पनि अहिले भने निरन्तर गरिरहेको बताएका छन् । ३ महिना सम्म कोरोनाको कारण केही काम गर्न नसकेको र वर्षा महिनामा काम गर्न अझै अवरोध हुने हुँदा केही दिन रोकेर यस आर्थिक वर्षको समापनसँगै म्याद थप गरी गुणस्तरिय कामको लागि प्रदेश सरकारलाई आग्रह गरिरहेको ओझाले जनाएका छन् ।

प्रदेश र सङ्घीय सरकारबाट भएका विकास निर्माणका योजनाहरू अनुगमन गर्नका लागि नेकपा सुन्दरहरैचाका सहइन्चार्ज तथा मोरङ जिल्ला कमिटी सचिवालय सदस्य नवराज चापागाईँको संयोजकयतामा अनुगमन कमिटी निर्माण भएको उनले जनाएका छन् । प्रदेश र संघले गरिरहेको कामबारे जनतालाई बुझाउन र विकास निर्माणको काममा कुनै कमजोरी हुन नदिन अनुगमन कार्य सुरु गरेको चापागाईँले बताएका छन् ।

नेकपा सुन्दरहरैचन नगर कमिटीका अध्यक्ष तथा मोरङ जिल्ला कमिटी सचिवालय सदस्य केदार गुरागाईले चुनावमा जनतालाई घोषणा पत्र मार्फत देखाएको सपनाहरू पुरा गर्न पार्टी सक्रिय पूर्वक लागि परेको र सोही अनुसार सञ्चालित काममा गुणस्तरियताको लागि पनि अनुगमन कार्य भइरहेको उनले बताएका छन् ।

पूर्व अञ्चल विश्व विद्यालयको प्रधान कार्यालय सुन्दरहरैचा, गोटगाँउकै परिसरबाट सञ्चालन गर्ने भनी गरिएको प्रतिबद्धता अनुसार प्रतिनिधि सभाबाट पूर्व अञ्चल विश्व विद्यालय सम्बन्धी ऐनको संशोधन भइसकेको र राष्ट्र सभाबाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुने समेत उनले जनाए ।

सांसद ओझाको पहलमा प्रदेश सरकारको आर्थिक सहयोगमा सुन्दरहरैचा वाड नं. ९ मा खदम जुडि सिँचाई योजना निर्माण कार्य भइरहेको छ । प्रदेश सरकार सिँचाई डिभिजनद्वारा रु.१ करोड ७५ लाख सहयोग भएको ओझाले जनाएका छन् । यस्तै गरी काली मन्दिर निर्माण तथा मर्मतमा सांसद विकास कोषबाट रु.६ लाख, बुधबारे आइतबारे खण्ड कालोपत्रेमा रु.१५ लाख, तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत बुधबारे बजार टहरा निर्माण रु.४० लाख र जनता मा.वि. भवन निर्माणको लागि रु.१० लाखको आर्थिक सहयोगमा निर्माण कार्य भइरहेको छ ।

सुन्दरहरैंचा १० मा सांसद विकास कोषबाट नवोदय मार्गमा टायलको लागि रु.११ लाख, गैरी टोल हुँदै बासुकी ताल जाने बाटो एजिङ ग्राभेल गर्न रु.१० लाख, रिन्छेन छ्योलिङ बौद्ध गुम्बामा रु.१० लाख, हेभेन लिपात भवन निर्माण रु.१० लाख, मुनालचोक हुँदै संगम मार्ग जाने बाटो एजिङमा रु.१० लाखको आर्थिक सहयोगमा निर्माण कार्य भइरहेको छ ।

सुन्दरहरैंचा १० मै बाघझोडा विश्वविद्यालय जाने बाटो कालोपत्रे रु.५० लाख, भानुमार्ग देखी उत्तर सयपत्री मार्ग एजिङ ग्राभेलको लागि रु.४९ लाख, गौरी शंकर मन्दिर सामुदायिक भवन निर्माणको लागि रु.३० लाख प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण कार्य भइरहेको छ । यस्तै बासुकी रिचार्ज पाउण्ड (ताल) निर्माणमा रु.५० लाख, चण्डेश्वरी स्कुलमा रु.७ लाख, आदिवासी जनजाति भवन रु.१० लाख, आरती सामुदायिक भवन रु.१५ लाख प्रदेश सरकारको आर्थिक सहयोग रहेको छ भने तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत रु.२५ लाखको आर्थिक सहयोगमा सुकुना खोला तटबन्धन निर्माण कार्य भइरहेको सांसद ओझाले बताएका छन् ।

सुन्दरहरैंचा ११ पनि जयनगर कर्जुना ढल निर्माणमा रु.१ करोड, सांसद विकास कोषबाट त्रिपुरेश्वर मन्दिर शौचालय निर्माणमा रु.५ लाखको आर्थिक सहयोगमा काम भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको पहलमा सुन्दरहरैचा १० मा हरैंचामोड उत्तर हुँदै वरपिपल चौक जाने बाटो कालोपत्रेमा रु.६७ लाख, उपमन्यु धर्मशाला निर्माण रु.२० लाखको संघको आर्थिक सहयोग निर्माण भइरहेको छ ।

सांसद ओझाका अनुसार अरू विकास कार्य योजनाको अनुगमनमा पनि निरन्तर हुने छ । अनुगमनमा नेकपा, प्रदेश १ सदस्य लक्ष्मी फुयल, सुन्दरहरैचा नगरपालिका उपप्रमुख मनुमाया तामाङ लगायतको सहभागिता रहेको थियो ।

https://youtu.be/GsaKyuafHDU

प्रतिक्रिया दिनुहोस्