बेलबारीमा जनता आवास कार्यक्रम विवादमा : इन्जिनियर घिमिरे भन्छन्,बालुवा गुणस्तरहीन


मोरङ, १ असार । बेलबारी नगरपालिकाले सञ्चालन गरेको जनता आवास कार्यक्रम विवादमा आएको छ । घर निर्माण कार्यमा अनियमितताको आशंका गर्दै कमसल सामाग्रीको प्रयोग गरिएको स्थानीय तथा जनप्रतिनिधिकै जनगुनासो आएको हो ।

नगरपालिकाले विपन्न तथा असहाय परिवारलाई १०१ वटा घर निर्माण गर्ने बेलबारीको एक उत्कृष्ट योजना हो । तर वाड नं. ३ मा निर्माणाधीन अवस्थामा रहेको घरमा कमसल सामाग्री प्रयोग भएको भन्ने स्थानीयको गुनासो रहेको छ । बेलबारी वाड नं. ३ मा ४० वटा घर निर्माण हुँदै छ । अन्य वडामा पनि घर निर्माण कार्य भइरहेको छ । तर विवादको चर्चा भने वाड नं. ३ ले बताएको छ ।

वाड नं. ३ मा वडाका जनप्रतिनिधि साथै स्थानीयले नै कमसल सामानको प्रयोग भएको गुनासो गरेका छन् । प्रति घरमा श्रमदान सहित करिब ३ लाख ३६ हजार मूल्य बराबरको लागतमा घर निर्माण कार्य भइरहेको सहारा नेपालका प्रतिनिधि इन्जिनियर अनिल घिमिरेले बताएका छन् ।

बेलबारी नगरपालिकाले १ लाख ५० हजार, रु.१ लाख सहारा नेपाल र ह्याविटेड नेपाल र स्थानीयको रु.३६ हजार बराबरको श्रमदानमा घर निर्माण भइरहेको छ । नगरभरी कुल रु.३ करोड ३९ लाख ९२ हजारको लागतमा १०१ वटा घर निर्माण कार्य भइरहेको घिमिरेले जनाए ।

घर निर्माणमा कमसल सामाग्री प्रयोग भएको स्थानीयको जनगुनासोमा घिमिरेले बालुवा गुणस्तरीय नभएको भने स्वीकार गरेका छन् । जनप्रतिनिधि, घर निर्माण उपभोक्ता समिति र स्थानीयसँग बसेको छलफलबाट उक्त बालुवा प्रयोग नगर्ने र फिर्ता गर्ने निर्णय गरेको उनले बताए । तर बालुवा भने जहाँको त्यही छ ।

निर्माण कार्यमा कुनै पनि कमजोरी हुन नदिन अनुगमन कार्यको लागि बेलबारी अनुगमन समितिले अनुगमन गर्ने घिमिरेले बताए । तर उपप्रमुख ढाका कुमारी पराजुलीले भने उक्त कार्यको लागि भनेर छुट्टै अनुगमन समिति बनाउने भनिएता पनि अहिले सम्म आधिकारी जानकारी नआएको बताइन ।

स्थानीयको जनगुनासो भए जस्तै वास्तवमै कमजोर सामाग्री घर निर्माण कार्यमा प्रयोग भएको हो भने, निर्माण सम्पन्न भएता पनि भत्काउन लगाएर पुर्न निर्माण गर्ने वा नगरपालिकाले गर्ने भनिएको आर्थिक सहयोगको भुक्तानी नै रोकिने समेत बताइन ।

 

प्रतिक्रिया दिनुहोस्