नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने


काठमाडौँ,१८ जेठ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

काँग्रेसको पार्टी कार्यालय सानेपामा शनिवार बसेको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिले भनेको छ, सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रस्ट भएको छ । यसलाई अङ्ग बनाउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव उचित छ । यसको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’

सरकारले नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न शुक्रवार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।
काँग्रेस बैठकले छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय पनि गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला मधेस केन्द्रीय दलहरूको माग सम्बोधन गर्न दर्ता गरेको तर संसदबाट अस्वीकृत भएको विधेयकलाई नै फेरि दर्ता गर्ने निर्णय भएको हो ।
‘यसका लागि संसदीय दललाई निर्देशन दिइएको हो । दलले उपयुक्त समयमा संशोधन दर्ता गर्छ, एक नेताले भने ।
शनिवार बसेको कार्यसमिति बैठकमा तराई मधेसका केन्द्रीय सदस्यहरूले मधेसको मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्