लोहोन्द्रामा टिपर र स्काभेटर प्रयोगबाट खोलाजन्य सामाग्री उत्खनन गर्न बन्द


अर्जुन कुलुङ राई (खनेन्द्र) – बेलबारी, १४ जेठ । लोहोन्द्राबाट टिपर र स्काभेटरको प्रयोग गरेर खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा बेलबारी नगरपालिकाले रोक लगाएको छ । ठेक्का लिने सयपत्री मल्टीपल कम्पनीले बेलबारी वाड नं. १ स्थित लोहोन्द्रा खोलामा मापदण्ड विपरीत उत्खनन गरेको कारण मङ्गलवारबाट नगरपालिकाले रोक लगाएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले टिपर र स्काभेटरको प्रयोग गरेर लोहोन्द्राबाट खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसार बन्द गरेको जनाएका छन् । सुवेदीका अनुसार टिपर तथा उत्खनन गर्ने कुनै पनि मेसिनको प्रयोग गर्न नपाउने गरी बन्द गरिएको हो । तर कुनै पनि मेसिनको प्रयोग नगरी ट्याक्टरमा मजदुरद्वारा भने छुट दिएको सुवेदीले बताएका छन् ।

नगरपालिकाले आदेश दिए पनि स्थानीयले उत्खनन स्थल गएर रोके पछि मात्र सयपत्रीले उत्खनन कार्य बन्द गरेको थियो । सोमबार नगरपालिकाले अनुगमन गर्दा मापदण्ड विपरीतको काम भएको पाए पछि तत्काल रोक्न मौखिक आदेश दिए पनि सयपत्रीले मङ्गलवारसम्म उत्खनन गरिरहेको थियो । स्थानीयले दिउसो उत्खनन स्थलमा पुगेर रोके पछि मात्र उत्खनन कार्य बन्द भएको हो ।

सयपत्रीलाई नगरपालिकाले लकडाउन अघि पनि मापदण्ड विपरीत उत्खनन गरेकोमा रु.१५ हजार जरिवाना गराएको प्रशासकीय अधिकृत प्रदीप शाहले जनाएका छन् । उनका अनुसार अनुगमन गर्दा मापदण्ड विपरीत उत्खनन गरेको पाइएमा रु.१५ हजार सम्म जरिवाना गर्ने नगरपालिकाको निर्णय रहेको छ ।

सोमबारै सयपत्रीलाई उत्खनन कार्य बन्द गर्न मौखिक आदेश दिएको बारे पनि शाहलेनै जनाएका हुन । तर मङ्गलवार दिउसो ४ बजे सम्म उत्खनन कार्य भइरहेको थियो । खोलामा मापदण्ड विपरीत उत्खनन भए पछि स्थानीय विरोधमा उत्रिएका थिए भने उत्खनन रोक्न बेलबारी नगरपालिकालाई जेठ ११ गते निवेदन पनि पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्