मापदण्ड विपरीत लोहोन्द्रा खोला उत्खनन : ठेकेदार भन्छन,‘स्काभेटरको दाँतै १ फिट भएर खनियो होला’


अर्जुन कुलुङ राई (खनेन्द्र) – बेलबारी, १२ जेठ / लकडाउनमा पनि बेलबारीमा मापदण्ड विपरीत लोहोन्द्रा खोला उत्खनन भइरहेको छ । देश लकडाउन भएको बेला मोरङको बेलबारी वाड नं. १ मा भने मापदण्ड विपरीत खोलाजन्य सामाग्री मनोमानी रूपमा ठेकदारले उत्खनन गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

स्थानीयका अनुसार दैनिक ३ सय भन्दा बढी टिपरले मिस गिट्टी ओसार्ने गरेको बताऊ छन् । खोलाको माटोको सतह देखिने गरी उत्खनन भएको छ । खोलाको उत्खनन गरेको क्षेत्रमा हेर्ने हो भने पनि करिब ६ फिटको गहिराइमा उत्खनन भएको देखिन्छ । टिपरको बाक्लो आवतजावत हेर्दा देशमा लकडाउन छ भन्ने केही पनि महसुस हुँदैन ।

३ वटा स्काभेटरको प्रयोग गरेर उत्खनन गर्दै सयौँ टिपरमा छिटो छिटो ओसार्ने कार्य भइरहेको छ । बेलबारी वाड नं. १ मा दुई ठाउँमा हजारै घन मिटरको विशाल पहाडै मिस गिट्टी भण्डारण गरिएको छ । लोहोन्द्रा खोलाबाट दैनिक सयै घनमिटर खोलाजन्य सामाग्री बेलबारी नगरपालिका बाहिर गइरहेको स्थानीय राजु कार्की र सन्तोष मगरले बताए ।

स्थानीयहरू बाहिरबाट आएको टिपरबाट पनि त्रसित भएका छन् । चालकहरू अपरिचित छन् साथै उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्नेमा पनि शङ्का गरिरहेका छन् । कोरोना भाइरसले विश्वै आक्रान्त भएको बेला स्थानीय त्रसित हुनु पनि स्वभावीकै हो ।

मापदण्ड विपरीत उत्खनन कार्य रोक्न बेलबारी नगरपालिकालाई निवेदन पेस गर्दा नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अनुगमन पछि मात्र निर्णय गर्ने बताएको स्थानीय निलम मगर जनाएका छन् । घनाबस्ती नजिक र ६ फिट भन्दा बढी गहिरो उत्खनन कार्य हुनुको कारणले वर्षा महिनामा आउने लोहोन्द्राको बढीले बस्तीनै जोखिममा हुने भएकोले उत्खनन कार्य रोक्न अनुरोध गरेको मगर बताउँछन् ।

उक्त उत्खनन सयपत्री मल्टीप्रपोज कम्पनीले सम्झौता अनुसारै काम गरिरहेको स्काभेटर चालकहरू बताउँछन् । तर उत्खनन गर्दा अलि बढी खनिएको भने स्विकार गरेका छन् । उनीहरू भन्छन्, ‘हामीलाई त जति खन्नु भन्छन् त्यसरी नै त्यति खन्ने हो ।’

मापदण्ड विपरीत उत्खनन हुनु भएन भनेर आग्रह गर्दा सयपत्री मल्टीप्रपोज कम्पनीका सञ्चालक माधव थापासँग कुराकानीमा नगरपालिकाले ठेक्का लगाएर गरेको नत्र गर्दिन थियौ भन्ने गएर जिम्मेवारी जवाफ आएको स्थानीयको गुनासो पनि रहेको छ ।

थापाको धेरै लागानि भइसकेको कारण डुब्ने डरले उत्खनन कार्य यसरी गरेको भन्ने पनि जवाफ आएको छ । थापाले केही मापदण्ड विपरीत उत्खनन भए सुधार्ने पनि बताएको स्थानीय निलम मगरले जनाएका छन् ।

सञ्चालक थापाले पनि स्काभेटरको दाँतनै करिब एक फिटको जति हुने भएकोले केही ठाउँमा ५ फिट भन्दा अलि धेरै खनिएको हुन सक्ने बताएका छन् । स्थानीयलाई केही अवरोध भए समस्याको समाधान गर्न तयार रहेको थापाले बताए । उनले ४, ५ लाख घनमिटर सम्म भण्डारण गर्ने अनुमति भएकोमा ४० हजार घनमिटर मात्र भण्डारण गरेको पनि जनाएका छन् ।

बेलबारी नगरपालिकाले मापदण्ड विपरीत उत्खनन कार्य नरोक्ने, नगरको संरक्षणमै उत्खनन गर्न दिन नहुने बताउँदै, भोलि बाढीबाट आइपर्ने क्षतिको जिम्मेवारी स्थानीय सरकारले लिनु पर्ने स्थानीय बताउँछन् । स्थानीय सरकारले भने जनताको गुनासोको सम्बोधन गर्ने र मापदण्ड विपरीत उत्खनन भए तत्काल रोक्ने उपप्रमुख ढाका कुमारी पराजुलीले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्