रमिते सामुदायिक वन उपभोक्ता समूहको संक्षिप्त परचिय


केशु विरही बेलबारी , मोरङ जिल्ला बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा अवस्थित रमिते सामुदायिक वनले १४० हेक्टर क्षेत्रफल ओगटेको छ । यस सामुदायिक वन मा ८ सय ९६ घरधुरी रहेका छन् ।

कार्य सम्पादन, पारदर्शिता योजना आदिका हिसाबले मोरङका १ सय ३१ वटा सामुदायिक बनहरूमध्ये दोस्रो स्थानमा पर्न सफल रमिते सामुदायिक वन आसपासमा रहेका अन्य बनहरूका लागि एउटा नमुना सामुदायिक वनको रूपमा साबित भएको छ । यो सबैको गर्वको कुरा हो । यसरी उत्कृष्ट सामुदायिक वनको रूपमा छनोटमा पर्नसक्नुमा कार्यसमिति, सल्लाहकार, लेखा तथा सुपरिवेक्षण समिति, अनुगमन समिति, कर्मचारी तथा आम उपभोक्ताहरूको उत्तिकै भूमिका रहेको छ ।
वि.स. २०५६ सालमा स्थापना भए पनि यो सामुदायिक वन उपभोक्तामा भने वि.स. २०७२ सालमा मात्र हस्तान्तरण भयो । समुदायमा हस्तान्तरण पश्चात् यस सामुदायिक वनले विधान तथा कार्ययोजनामा रहेर थुप्रै जनमुखी काम गर्दै आएको छ ।

लोहान्द्रा तटबन्ध निर्माण, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति, न्युन आय भएका उपभोक्ताहरूलाई उपचार खर्च तथा विभिन्न आय आर्जनका कामहरू गर्दै आएको छ । रमितेको भ्यूटावर निर्माणको थालनीलाई त्यस्ता थुप्रै कार्यहरूमध्ये एउटा उदाहरणीय कार्यको रूपमा लिन सकिन्छ । नगरपालिकाकै गौरवको योजनाको रूपमा रहेको यो योजना पूरा गर्न सकेमा यो क्षेत्रलाई एउटा पर्यटनको केन्द्रबिन्दु बनाउन सकिने थुप्रै आधारहरू छन् ।

रमिते सामुदायिक वन उपभोक्ता समूहको तेस्रो साधारण सभा

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेको यस सामुदायिक वन उपभोक्ता समूहले मिति २०७५ साल भाद्र ३० गते शनिवारका दिन आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो साधारण सभाको एक कार्यक्रमबिच उद्घाटन गरेका थिए ।
सामुदायिक वनको आफ्नै सभाहलमा सम्पन्न उक्त तेस्रो साधारणसभामा प्रदेशसभा सांसद राजकुमार ओझा, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, डिभिजन वन कार्यालय मोरङका प्रमुख डा. विनोद देवकोटा, बेलबारी नगरकार्यपालिका सदस्य खिना थापा, वाडासदस्यहरु भगिमाया विशुंखे, मनु श्रेष्ठ र कृष्णबहादुर लिम्बू, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख रामकुमार राई, सेक्टर वन अधिकृत लालबहादुर माझी, र इलाका वन अधिकृत रुद्र प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।

साथै सो अवसरमा छिमेकी बागदेवी सामुदायिक वनका अध्यक्ष फडिन्द्र थापा, सिंहदेवी सामुदायिक वनका अध्यक्ष भीम कार्की, देविझोडा सामुदायिक वनका अध्यक्ष हरिकुमार विष्ट, नेपाली काङ्ग्रेस नगरकमिटि सचिव एवम् शिक्षा सन्देश इ. स्कुलका प्रिन्सिपल राजेश खत्री, नेकपाका बेलबारी नगर कमिटी संयोजक ईरन राई लगायतका महानुभावहरूको सहभागिता रहेको थियो ।
उद्घाटन पश्चात् साधारणसलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले रमिते पर्यटकीय क्षेत्र विकासका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए । साथै मन्त्री कार्कीले देशको विकास बजेटको अभावले नभएर योजना र इच्छाको अभावले भएकोले योजनाका साथ अघि बढ्न सल्लाह पनि दिए ।
प्रदेशसभा सदस्य राजकुमार ओझाले आफ्नो छोटो तर सार गर्भित मन्तव्य राख्दै सामुदायिक वनका केही खराब प्रवृत्ति भएका व्यक्तिका कारण राम्रो काम गर्ने माथि पनि आक्षेप लाग्ने गरेको बताए ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जिल्लाकै उत्कृष्ट सामुदायिक वनको रूपमा छनोट भएकोमा रमितेलाई शुभकामना दिँदै नगरपालिका रमिते पर्यटकीय क्षेत्रको विकासमा कटिबद्ध रहेको प्रतिबद्धता पनि जाहेर गरे । रमितेको भ्यू टावर निर्माणमा नगरपालिकाले वास्ता नगर्दा योजना पछि सर्‍यो भन्ने जनमानसमा गुनासो आरहेको वेलामा मेयर सुवेदीले सो प्रतिबद्धता गरेका हुन् ।

सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि डिभिजन वन कार्यालय मोरङका प्रमुख डा. विनोद देवकोटाले सामुदायिक वनका उपभोक्ताका हित हुने खालका काम गर्न सबैलाई आग्रह गरे । बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्र थापा र रमिते सा।व।उ।स।का सल्लाहकार एवम् कविर माविका प्र.अ. दुर्गा गौतम द्वयले सामाजिक विकास शीर्षकमा रहेको रकम खर्च हुनु पर्ने कुरामा जोड दिएका थिए । नेपाली काङ्ग्रेसका तर्फबाट राजेश खत्री र नेकपाका तर्फबाट ईरन राईले शुभकामना दिएका थिए ।
उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर राईले आ. व. २०७५/७५को वार्षिक प्रगति विवरण र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन समूहको कोषाध्यक्ष नरहरि भण्डारीले प्रस्तुत गरेका थिए । साथै लेखा समूहकोतथा सुपरिवेक्षण प्रतिवेदन संयोजक खगेन्द्रप्रसाद ओझाले प्रस्तुत गरेका थिए । संस्थाले अख्तियार गर्ने गरिबी निवारण कार्यक्रम र सोको सञ्चालन कार्यविधि संस्थाका सदस्य एवम् कार्यक्रमका सञ्चालक राजु परियारले पढेर सुनाएका थिए ।

सोही अवसरमा विभिन्न १३ जनालाई विद्यार्थीहरू जनही ७ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको थियो । बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले छात्रवृत्तिको रकम वितरण गरेका थिए । खुल्ला सत्र पश्चात्को दोस्रो सत्रमा कार्य समितिले ल्याएको आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम पनि छलपल गरेर पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्