लिम्पियाधुरा सहितको भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ नक्सा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी


 काठमाडौँ ,४ जेठ । नेपाल सरकारले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा सरकारले लिम्पियाधुरा सहितको भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ नक्सा सहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् ।

मन्त्रालय स्रोतका अनुसार नयाँ नक्साको अधिकांश काम तयारी अवस्थामै थियो । यसबीचमा भारतसँग वार्ताबाट समाधान हुने अपेक्षामा नक्सा जारी गर्न रोकिएको मन्त्री अर्यालले बताएकी थिइन् । तर भारतले लिपुलेकबाटै सडक खन्न थालेपछि नक्सा जारी गर्न नेपाललाई दबाब परेको हो ।

मन्त्री अर्यालले नयाँ नक्सा प्रकाशन गर्न नापी विभागलाई निर्देशन गरेकी हुन् । विभागले नयाँ नक्सा तयार पारिसकेको छ ।
नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछिमात्र त्यो पारित हुनेछ । नक्सा सार्वजनिक गर्नुअघि सरकारले त्यसका प्राविधिक,कुटनीतिक र अन्य सबै पक्षलाई विचार गरेर परिपक्व निर्णय गर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

नेपालको हाल प्रचलनमा रहेको नक्सामा लिम्पियाधुरा छैन । राणा काल र पन्चायतकालदेखिनै सो भूभाग नरहेको तर अहिलेको सरकारले त्यो सहित समेटेर नयाँ नक्सा जारी गर्ने अर्यालले बताएकी थिइन् । उनले लिम्पियाधुरा नेपालको नक्सामा नरहेको भन्दै कतिपयले विरोधसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्