बाजुरामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु


बाजुरा, ७ चैत । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ ।

वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए । उनका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । अहिले सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी परेको बताइएको छ । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिएकी छन् ।

स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिएका छन् ।

यसै गरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउँका बासिन्दा बिरामी पर्न थालेका छन् ।
गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले दुईनाबालकको मृत्यु भएको र केही बिरामी परेको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मी परिचालन गरी उपचार सुरु गरिएको बताए ।

कोेभिड–१९ को जाँचका लागि चार स्थानमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरिने भएको छ । प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाभित्र प्रवेश गर्ने नाकामा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्