काठमाडौँमा एक किशोरीलाई सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ


काठमाडौँ, ५ चैत । काठमाडौँको थानकोट लगेर ट्रकभित्र एक १७ वर्षीया किशोरी सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका–१ का सञ्जय घर्ती मगर रहेको थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । उनीहरू २० देखि २५ वर्षसम्म उमेरका रहेको जनाएको छ ।

धादिङ घर भएकी किशोरीलाई घर र्पुयाई दिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेको पाइएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । ‘घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘घटनाको गम्भीर अनुसन्धान गरिरहेका छौँ ।’

चन्द्रागिरी नगरपालिका–१५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक, सहचालकसहित तीन जनाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् ।

पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृत्तको हिरासतमा राखेर प्रहरीले घटना अनुसन्धान अघि बढाएको छ । पीडित किशोरीलाई भने माइती नेपाल संस्थाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्