टिपरले ठक्कर दिँदा आमा छोरीको मृत्यु


काभ्रेपलाञ्चोक, ४ चैत । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्री आमा छोरीको मृत्यु भएको छ ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुइँकिएर आएको टिपरबाट छोरीलाई जोगाउन खोज्दा आमालाई समेत टिपरले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् । गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापश्चात् आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि दुई राउन्ड हवाई फायर र पाँच राउन्ड अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्