“दोस्रो कुसुमे उद्यौली कप २०७६”को उपाधि रोयललाई (फोटो फिचर)


मोरङ, २६ मङ्सिर / कुसुमे साईनिङ क्लब, केराबारीको आयोजनामा भएको खुल्ला नकआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उद्यौली कप २०७६” को उपाधि रोयल फुटबल क्लब दमक झापाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा रोयलले सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपियफ)लाई ट्राइब्रेक्ररमा ३–१ गोलको अन्तरले हराउँदै उपाधि हातपारेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकिए पछि ट्राइब्रेक्ररमा टुङ्गिएको थियो । ट्राइब्रेक्ररमा रोयलको तर्फबाट रुद्र कार्की, आशिस चौधरी, सञ्जीव बुढाथोकीले गोल गरेका थिए भने, उत्तम कार्कीले गरेको प्रहार गोल हुन सकेन । रोयलका ४ खेलाडीको प्रहारमा ३ गोल भएको थियो । तर एपियफको तर्फबाट भने उमेश चौधरीले मात्र गोल गर्न सके । सबिन थापा, सुबराज श्रेष्ठ र भुवन बस्नेतको प्रहार भने रोयलका गोल किपरले रोकेका थिए ।

प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु.५१ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु.३१ हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको म्यान अफ दि म्याच रोयलका खेलाडी आशिस चौधरी घोषित भए । उनले नगद पुरस्कार रु.१ हजार ५ सय प्राप्त गरेका छन् ।

वेस्ट गोल किपर रोयलका खेलाडी उत्तम पोखरेल, धेरै गोलकर्ता एपियफका आकाश राई र कृष्ण थापा घोषित भएका छन् । उनीहरूले प्रति व्यक्ति नगद पुरस्कार रु.२ हजार ५ सय प्राप्त गरेका छन् । म्यान अफ द सिरिजमा एपियफका रविन राई घोषित भएका छन् । उनले नगद पुरस्कार रु.५ हजार प्राप्त गरेका छन् ।

किराँत समुदायको उद्यौली पर्वको अवसरमा मङ्सिर २० गतेबाट सुरु भएको प्रतियोगिता केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । समापनमा किराँत समुदायहरूको संस्कृति झल्किने झाकी समेत प्रस्तुत गरिएको थियो ।

मङ्गलबार भएको पहिलो र अन्तिम सेमिफाइनलमा एपियफले बेलबारी फुटबल क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने रोयलले डाँगीहाट युथ क्लब मोरङलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

                                                    ( सेतोमा रोयल र सुन्तलेमा एपियफका खेलाडी गोलको लागि प्रतिस्पर्धा गर्दै )

पहिलो सेमिफाइनलमा ट्राइब्रेक्ररमा ४–२ गोलको अन्तरले एपियफले बेलबारीलाई हराएको थियो । अन्तिम सेमिफाइनल खेलमा रोयलले डाँगीहाटलाई ट्राइब्रेक्ररमा ५–४ गोलको अन्तरले रोयल फाइनलमा प्रवेश गरेको हो ।

खेलमा आयोजक टिम कुसुमे साईनिङ क्लब , रोयल फुटबल क्लब दमक झापा, डाँगीहाट युथ क्लब मोरङ, इटहरी फुटबल क्लब सुनसरी, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, लेटाङ फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ र पथरी फुटबल क्लब गरी ८ वटा टिमको सहभागिता रहेको थियो ।

कुसुमे उद्यौली कपलाई वार्षिक रूपमा निरन्तरता दिँदै जाने कुसुमे साईनिङ क्लब, केराबारीका सचिव अमर राईले जनाएका छन् । प्रतियोगिता क्लबका अध्यक्ष भक्तसेर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको छ ।

                                                                   ( फोटो : कोसी नेपाल मिडिया )

प्रतिक्रिया दिनुहोस्