सागमा प्रहरी दमनप्रति प्रेस नेपालको गम्भीर ध्यानाकर्षण


काठमाडौँ ,२५ मङ्सिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो भएको १३ औँ दक्षिण एसियाली खेलकुद ( साग ) मा भएको प्रहरी दमनप्रति प्रेस नेपालको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

सागमा भएको पुरुष फुटबल खेलमा नेपाल र भुटान फाइनलमा भिड्ने भएपछि दर्शकहरूको भिड माथि प्रहरीले हस्तक्षेप गरेपछि नागरिक दैनिकका पत्रकार सुमन चापागाईँले तस्बिर लिँदै गर्दा प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोषसिंह राठौरको टोलीले कुटपिट र दुर्व्यवहार गरेको छ ।

लोकतान्त्रिक मुलुकमा निर्बाध रूपमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्न पाउने पत्रकारहरूको न्यूनतम अधिकारलाई राज्यले संरक्षण गर्नुपर्नेमा प्रहरीले नै यस किसिमको घटना घटाउनु घोर निन्दनीय भएको र प्रेस स्वतन्त्रमाथि हस्तक्षेप भएको भन्दै प्रेस नेपालका महासचिव विजय चाम्लिङले बताएको छ ।

उक्त घटनाको तत्काल छानबिन गरी संलग्न दोषी प्रहरी अधिकारीमाथि कारबाही गर्नको साथै यस किसिमको घटना फेरि नदोहोरिने, पत्रकारहरूले स्वतन्त्र रूपमा काम गर्ने र उनीहरूको पेसागत सुरक्षाको प्रत्याभूति दिने विषयमा सरकार गम्भीर हुनु पर्ने प्रेस नेपालले नेपाल सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्