फाइनलमा एपियफ र रोयल भिड्दै : “ दोस्रो कुसुमे उद्यौली कप २०७६”


मोरङ, १३ मङ्सिर / केराबारीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उद्यौली कप २०७६” को फाइनलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपियफ) र रोयल फुटबल क्लब दमक झापा भिड्ने भएको छ ।

मङ्गलबार भएको पहिलो र अन्तिम सेमिफाइनलमा एपियफ र रोयल, फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने तय भएको हो । दुई सेमिफाइनल खेल मङ्गलबारनै सम्पन्न भएको छ ।

पहिलो सेमिफाइनल खेल एपियफ र बेलबारी फुटबल क्लब बिच भएको थियो । खेलको २० मिनेटमा एपियफका खेलाडी कृष्ण थापाले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ८ मिनेटमा बेलबारीका खेलाडी भुषन सुब्बाले गोल फर्काएर खेल बराबरीमा सकिएको थियो ।

खेल बराबरीमा टुङ्गिए पछि ट्राइब्रेक्ररमा ४–२ गोलको अन्तरले एपियफले बेलबारीलाई हराएको छ । एपियफका खेलाडी योगेश दुर्गा मगर, सविन थापा, युवराज श्रेष्ठ र आकाश राईले गोल गरेका थिए । बेलबारीको तर्फबाट भने विक्रम लिम्बु र भुषन सुब्बाले मात्र गोल गर्न सके । मौसम लिम्बु र किरण लिम्बुले गोल गर्न नसक्दा बेलबारी फाइनलमा प्रवेश गर्न असफल भएको छ ।

अन्तिम सेमिफाइनल खेल डाँगीहाट युथ क्लब मोरङ र रोयल फुटबल क्लब दमक झापा बिच भएको थियो । पहिलो हाफको १० मिनेट र २० मिनेटमा डाँगीहाटका खेलाडी सुजन बस्नेतले दुई गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर रोयलले भने पहिलो हाफमा कुनै गोल गर्न सकेन ।

दोस्रो हाफको १० मिनेटमा सञ्जीव बुढाथोकीले गोल गरे भने आशिष् चौधरीले १५ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुराएका थिए । खेल बराबरीमा टुङ्गिए पछि ट्राइब्रेक्ररमा ५–४ गोलको अन्तरले रोयल फाइनलमा प्रवेश गरेको हो ।

रोयलको तर्फबाट सागर लिम्बु, सरोज कार्की, रोशन तामाङ, आशिस चौधरी, सञ्जीव बुढाथोकीले गोल गरेका थिए । डाँगीहाटको तर्फबाट नितेस मगर, धिरेन लिम्बु, विकास लिम्बु, अनीश घिमिरेले गोल गरेका थिए । तर गोकुल राजबङ्सीले गोल गर्न नसक्दा डाँगीहाटको लागि फाइनलको यात्रा बन्द भएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु.५१ हजार र उपविजेताले रु.३१ हजार प्राप्त गर्ने छन् । फाइनल खेल मङ्सिर २६ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्