“दोस्रो कुसुमे उद्यौली कप २०७६” को उद्घाटन खेलमा झापाको रोयल विजयी (फोटो फिचर)


मोरङ, १३ मङ्सिर /  केराबारीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उद्यौली कप २०७६” को उद्घाटन खेलमा रोयल फुटबल क्लब दमक झापा विजयी भएको छ । ट्राइब्रेक्ररमा झापाले ५–३ गोलको अन्तर आयोजक टिम कुसुमे साईनिङ क्लबलाई पराजित गरेको हो ।

शुक्रवार भएको उद्घाटन खेल प्रतिस्पर्धात्मक भएको थियो । दुवै टिमको तर्फबाट खेलको निर्धारित समयमा कुनै गोल हुन नसक्दा ट्राइब्रेक्ररमा टुङ्गिएको थियो ।
ट्राइब्रेक्ररमा झापाको तर्फबाट सागर लिम्बु, विकास लामा, मोहन गुरुङ, रोशन तामाङ र सञ्जीव बुढाथोकी गोल गरेका थिए ।

आयोजकको तर्फबाट महेश लिम्बु, हिकमेन लिम्बु र दिवस गुरुङले गोल गरेका थिए भने सन्दीप लिम्बुले गरेको प्रहार पोस्टको पोलमा लागेर बाहिरिएको थियो । झापाले ५ गोल गरे भने आयोजकले ३ गोल मात्र गर्न सके ।

उद्घाटन खेलका म्यान अफ दि म्याच झापाका खेलाडी रोशन तामाङ घोषित भएका छन् । तामाङले रु.१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।
“दोस्रो कुसुमे उद्यौली कप २०७६” को उद्घाटन केराबारी गाउँपालिकाका उपप्रमुख शान्ति च्याम्जोङ भुजेलले दिव प्रज्वलन तथा उद्घाटनको ब्यानर बेलुनमा उठाएर गरेकी छन् ।

त्यस्तै आयोजक र लेटाङ बिच भएको भेट्रन खेलमा भने आयोजक भेट्रन टिम विजयी भएको छ । आयोजकले ३–१ गोलको अन्तरले लेटाङ पराजित गरेको हो ।आयोजकको तर्फबाट जीवन कार्की, निरु राई, सुवास गुरुङले गोल गरे भने लेटाङको तर्फबाट सन्त राईले गोल गरे । खेलमा ८ वटा टिमको सहभागिता रहेको छ ।

भोलिको दोस्रो दिनको खेल सशस्त्र प्रहरी बल पूर्वाञ्चल र लेटाङ फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु.५१ हजार र उपविजेताले रु.३१ हजार प्राप्त गर्ने छन् । खेलको फाइनल मङ्सिर २६ गते हुने छ ।

(निलोमा आयोजक टिम र सेतोमा रोयल फुटबल क्लब झापा)

प्रतिक्रिया दिनुहोस्