विराटनगर । दीपावली र छठ पर्वको रमझममा पटका, आतसबाजी तथा झिरझिरे पड्काउने तयारीमा हुनुहुन्छ ? सावधान ! यस्तो गतिविधि विस्फोटक पदार्थसम्बन्धी कसुरमा पर्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय मोरङले तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन जारी गरेको अनुरोधमा पटका, आतसबाजी तथा झिरझिरेजस्ता विस्फोटनजन्य वस्तु प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरेको हो । मुलुकी अपराध संहिता, २०७४ को दफा १३९ अनुसार इजाजतबिना विस्फोटक पदार्थको कारोबार गर्न निषेध गरिएको छ । सामान्य विस्फोटक पदार्थसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
प्रहरीले पटका तथा आतसबाजीको प्रयोगबाट आगलागी, शारीरिक चोटपटक, दुर्घटना र सार्वजनिक सुरक्षामा जोखिम निम्तिन सक्ने भन्दै यसको प्रयोग नगर्न आग्रह गरेको छ । चाडपर्वका अवसरमा देउसी-भैलो चिनजान भएका स्थानमा सभ्य र मर्यादित रूपमा खेल्न, जुवाजन्य खेलबाट टाढा रहन तथा मादक पदार्थ र लागूऔषध सेवन गरेर सवारीसाधन नचलाउन पनि अनुरोध गरेको छ ।
त्यसै गरी, चाडपर्वमा घर छाडेर बाहिर जाँदा ढोका-झ्याल राम्ररी बन्द गर्न, नगद तथा गरगहना सुरक्षित राख्न र घरको अवस्थाबारे छिमेकीलाई जानकारी गराउन प्रहरीले सुझाव दिएको छ । चोरी, ठगी तथा पाकेटमारीबाट जोगिन सचेत रहन, अपरिचित लिंक, क्यूआर कोड तथा अनलाइन अफरमा सावधानी अपनाउन र आफ्नो ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण कसैसँग साझा नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
कुनै आपराधिक वा शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी सहायताका लागि विभिन्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ । प्रहरी कन्ट्रोलका लागि १०० वा ९८५२०३७९०२, ड्युटी अधिकृत कक्षका लागि ९८५२०२६७५० र ट्राफिक प्रहरीका लागि १०३ नम्बरमा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, बालबालिका हराएमा खोजतलास केन्द्रको १०४ र अनलाइन स्क्याम तथा ठगीमा परेमा १२४७ नम्बरमा सम्पर्क गर्न प्रहरीले जनाएको छ ।
चाडपर्व खुसीका साथ मनाऔँ, पटका र आतसबाजीबाट टाढा रहौँ, आफू पनि सुरक्षित बनौँ र अरूलाई पनि सुरक्षित राखौँ भन्ने सन्देशसहित प्रहरीले सम्पूर्ण जिल्लावासीलाई सुरक्षित र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ ।



