बेलबारी । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा मोरङको बेलबारी नगर सभापतिका लागि जीतेन्द्र न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । न्यौपानेले आगामी नगर अधिवेशनमा बेलबारी नगर सभापतिको पदमा उम्मेदवारी दिने घोषणा गर्दै पार्टी संगठनलाई थप सक्रिय, जनमुखी र स्थानीय सरोकारसँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार आफ्नो उम्मेदवारीबारे जानकारी दिँदै न्यौपानेले बेलबारीका नागरिकको हकहित र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले नगरको विकास, नागरिकका समस्या तथा जनसरोकारका विषयमा पार्टीले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्दै आवश्यकताअनुसार विभिन्न राजनीतिक दल, सामाजिक संस्था तथा व्यक्तिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
न्यौपानेले पछिल्लो समय उठेका युवा पुस्ताका अपेक्षा र सामाजिक-राजनीतिक परिवर्तनका सवाललाई पनि पार्टी संगठनले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने बताए । उनले जेनजी आन्दोलनबाट उठेका विषय र युवाको अपेक्षालाई राजनीतिक तथा सामाजिक रूपान्तरणसँग जोडेर सम्बोधन गर्नुपर्ने धारणा राख्दै त्यसको सार्थकता नेतृत्व र व्यवहारबाट स्थापित गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया अहिले तल्लो तहबाट अघि बढिरहेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन २०८३ असोज ३ गते तय गरिएको छ । कतिपय स्थानीय परिस्थितिअनुसार असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ । त्यसपछि गाउँ तथा नगरपालिकाको अधिवेशन असोज ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने आधिकारिक कार्यतालिकामा उल्लेख छ ।
नगर सभापतिको उम्मेदवारी घोषणा गरेका न्यौपाने लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएको विवरण सार्वजनिक गरेका छन् । उनका अनुसार उनले २०५६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि भोजपुरको तत्कालीन नेपालेडाँडा गाविसस्थित श्री सन्त माध्यमिक विद्यालयको विद्यालय इकाइ समितिको सचिवको जिम्मेवारी सम्हालेका थिए ।
२०६३ सालमा मोरङको तत्कालीन इन्द्रपुर गाविसमा रहेको सुकुना बहुमुखी क्याम्पसको इकाइ सभापतिको जिम्मेवारी सम्हालेका न्यौपाने २०६५ सालमा सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति पदका प्रत्याशी बनेका थिए । त्यसपछि २०६६ सालमा नेपाल विद्यार्थी संघ मोरङ जिल्ला कार्यसमिति सदस्यका रूपमा काम गरेको र २०७१ सालमा नेविसंघ मोरङ जिल्ला सचिव पदका लागि प्रत्याशी बनेको उनले आफ्नो राजनीतिक पृष्ठभूमिमा उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसको १२औँ महाधिवेशनका क्रममा मोरङको तत्कालीन डाँगिहाट गाविस वडा नम्बर ५ को वडा सभापतिमा निर्वाचित भएको न्यौपानेको दाबी छ । त्यस्तै, १३औँ महाधिवेशनमा तत्कालीन डाँगिहाट गाविसको पार्टी सचिव पदका लागि प्रत्याशी बनेको तथा २०६७-६८ सालतिर तत्कालीन मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत बेलबारी, डाँगिहाट र कसैनी गरी तीन गाविसको इलाका सचिवको जिम्मेवारीमा रहेर काम गरेको उनले बताएका छन् ।
१३औँ महाधिवेशनकै समयमा पार्टीले उनलाई मोरङ जिल्ला विद्यार्थी विभागको जिल्ला सदस्यमा मनोनयन गरेको तथा १४औँ महाधिवेशनबाट मोरङ क्षेत्र नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएको पनि न्यौपानेले आफ्नो विवरणमा उल्लेख गरेका छन्। सोही क्रममा उनी नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमिति सदस्य पदका प्रत्याशीसमेत बनेका थिए ।
पार्टीको प्रतिनिधिका रूपमा स्थानीय विभिन्न संघसंस्थासँग आबद्ध भएर काम गरेको तथा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका विभिन्न समयमा पार्टीको चुनाव प्रचार समितिमा सक्रिय भएर जिम्मेवारी निर्वाह गरेको न्यौपानेले बताएका छन् । लामो समयको संगठनात्मक तथा राजनीतिक अनुभवलाई नगर नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित नगर सभापतिमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।
उम्मेदवारी घोषणा गर्दै न्यौपानेले बेलबारी नगरभित्र पार्टी संगठनलाई नागरिकका दैनिक समस्या र स्थानीय विकासका विषयसँग जोड्ने आफ्नो प्राथमिकता रहेको बताएका छन् । नगरवासीको हितमा काम गर्दा राजनीतिक आग्रहभन्दा माथि उठेर आवश्यक सहकार्य र समन्वय गर्ने उनको प्रतिबद्धता छ ।


