कानेपोखरीमा विपन्न परिवारका लागि ४५ सुरक्षित आवासको शिलान्यास

दलेली पूर्व ऋषिदेव बस्तीमा ३२ र करमटोलमा १३ घर निर्माण हुँदै : तीन करोड ६३ लाख ९० हजार आठ सय रुपैयाँ लागत


कानेपोखरी, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा विपन्न तथा आवासको आवश्यकता भएका परिवारका लागि ४५ वटा सुरक्षित आवास निर्माण हुने भएको छ । कानेपोखरी गाउँपालिका-२ स्थित दलेली पूर्व ऋषिदेव बस्तीमा ३२ वटा र वडा नम्बर ५ स्थित करमटोलमा १३ वटा गरी जम्मा ४५ वटा आवास निर्माण गर्न लागिएको हो ।

कानेपोखरी गाउँपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालको त्रिपक्षीय साझेदारीमा निर्माण हुने आवासको बिहीबार दलेली पूर्व ऋषिदेव बस्तीमा आयोजित एक कार्यक्रमबिच शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव तथा साझेदार संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा आवासको शिलान्यास गरेका थिए ।

आवास निर्माणबाट लामो समयदेखि सुरक्षित तथा व्यवस्थित घरको अभावमा रहेका विपन्न परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ । स्थानीय सरकार, साझेदार संस्था र सम्बन्धित उपभोक्ताको सहभागितामा सञ्चालन हुने यो कार्यक्रमले विपन्न परिवारलाई सुरक्षित बसोबासको आधार तयार गर्ने गाउँपालिकाले जनाएको छ ।

सुरक्षित आवास नागरिकको अधिकार : अध्यक्ष इङ्गनाम

शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले आवासविहीन तथा विपन्न परिवारका लागि सुरक्षित आवासको व्यवस्था गर्नु नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले आफूहरूले यसलाई प्राथमिकताका साथ निरन्तरता दिँदै आएको बताइन ।

इङ्गनामले सुरक्षित आवास निर्माण भएपछि परिवारको जीवनशैलीमा मात्रै नभई समग्र गाउँघर र समाजमा समेत सकारात्मक परिवर्तन आउने गरेको बताइन । अध्यक्ष इङ्गनामले आवास निर्माणमा प्रयोग हुने बाँसमा आधारित प्रविधि सुरक्षित, आकर्षक र वातावरणमैत्रीसमेत रहेको जनाइन  । विपन्न परिवारका लागि यस्तो प्रविधिबाट निर्माण गरिएका आवास प्रभावकारी बन्दै गएको उहाँले उल्लेख गरिन।
इङ्गनामका अनुसार सुरक्षित आवास निर्माणले घरविहीन वा कमजोर आवासमा बसिरहेका परिवारलाई वर्षायाम, हावाहुरी तथा अन्य जोखिमबाट सुरक्षित राख्न सहयोग पुग्नुका साथै उनीहरूको जीवनस्तर सुधारमा समेत योगदान पुर्‍याउनेछ ।
उपाध्यक्ष भोला प्रसाद अधिकारीका अनुसार ठेक्का प्रक्रियाबाट निर्माण हुने ४५ वटा आवासको कुल लागत तीन करोड ६३ लाख ९० हजार आठ सय रुपैयाँ रहेको छ । उक्त लागतमा कानेपोखरी गाउँपालिकाको तर्फबाट दुई करोड नौ लाख दुई हजार सात सय रुपैयाँ, ह्याबिट्याट फर ह्युमानिटी नेपाल तथा सहारा नेपालको तर्फबाट एक करोड आठ लाख रुपैयाँ र सम्बन्धित उपभोक्ताको तर्फबाट छयालीस लाख अठासी हजार एक सय रुपैयाँ योगदान रहनेछ ।

प्रतिघर आठ लाख आठ हजार छ सय रुपैयाँ लागत निर्धारण गरिएको छ । त्यसमध्ये गाउँपालिकाले प्रतिघर चार लाख चौसट्ठी हजार पाँच सय रुपैयाँ, ह्याबिट्याट फर ह्युमानिटी नेपाल तथा सहारा नेपालले दुई लाख चालीस हजार रुपैयाँ र सम्बन्धित उपभोक्ताले एक लाख चार हजार एक सय रुपैयाँ योगदान गर्ने व्यवस्था रहेको उपाध्यक्ष अधिकारीले जानकारी दिए ।

निर्माण हुने प्रत्येक आवासमा मुख्य घर, भान्छा घर र शौचालय गरी तीनवटा ब्लक रहनेछन् । मुख्य घरमा बरन्डासहित दुईवटा कोठा रहने व्यवस्था गरिएको छ । यसबाट लाभग्राही परिवारलाई बसोबास, खाना पकाउने तथा सरसफाइका लागि आवश्यक आधारभूत संरचना उपलब्ध हुनेछ ।

उपाध्यक्ष अधिकारीले कानेपोखरी गाउँपालिकाले यसअघि विभिन्न वडामा गरी १७२ वटा आवास निर्माण गरिसकेको जानए । अधिकारीका अनुसार सुरक्षित आवास निर्माणको कार्यक्रमलाई निरन्तरता दिँदै थप परिवारलाई सुरक्षित बसोबासको पहुँचमा ल्याउने प्रयास भइरहेको छ ।

२०८४ जेठ ३१ गतेभित्र आवास हस्तान्तरण गरिने

४५ वटा आवास निर्माणको जिम्मेवारी जेनिथ बिल्डर्सले पाएको गाउँपालिकाले जनाएको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले निर्धारित समयभित्र आवास निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ ।

गाउँपालिकाका अनुसार निर्माण सम्पन्न गर्ने अन्तिम समयसीमा २०८४ साल जेठ ३१ गते तोकिएको छ । त्यस अवधिभित्र दलेली पूर्व ऋषिदेव बस्तीका ३२ र करमटोलका १३ गरी सबै ४५ वटा आवास निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आवास निर्माणको काम निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीसँगै गाउँपालिका, साझेदार संस्था र लाभग्राही परिवारबीच निरन्तर समन्वय आवश्यक हुनेछ । निर्माणको गुणस्तर, समयसीमा र लाभग्राहीले पाउने सुविधाको सुनिश्चिततामा गाउँपालिकाको अनुगमनसमेत महत्त्वपूर्ण हुनेछ ।

कानेपोखरीमा निर्माण हुन लागेको ४५ वटा सुरक्षित आवास विपन्न परिवारका लागि केवल घर निर्माणको योजना नभई सुरक्षित, व्यवस्थित र सम्मानजनक जीवनतर्फको महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ । दलेली पूर्व ऋषिदेव बस्ती र करमटोलमा निर्माण हुने यी आवास समयमै र गुणस्तरीय रूपमा सम्पन्न भएमा कानेपोखरी गाउँपालिकाको सुरक्षित आवास अभियानमा अर्को महत्त्वपूर्ण उपलब्धि थपिनेछ ।

फोटो – निशान कार्की

प्रतिक्रिया दिनुहोस्