सेयर विवादपछि गृहमन्त्री सुदन गुरुङको राजीनामा


काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोपपछि उत्पन्न जनचासो र टिप्पणीलाई गम्भीर रूपमा लिँदै उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा गुरुङले आफ्नो निर्णय नैतिकता र पारदर्शिताको पक्षमा रहेको उल्लेख गरेका छन्। उनले आफूविरुद्ध उठेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले तत्काल प्रभावबाट पद त्याग गरेको स्पष्ट पारेका छन्।

उनले आफ्नो कार्यकाललाई इमानदारीपूर्वक निर्वाह गरेको दाबी गर्दै सार्वजनिक जीवनमा नैतिकता र जनविश्वास सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन्। पछिल्ला दिनहरूमा विशेष गरी युवा पुस्ताबाट उठेको सुशासन, पारदर्शिता र जबाफदेहिताको मागलाई सकारात्मक सन्देशका रूपमा लिएको उनले उल्लेख गरेका छन्।

गुरुङले आफ्नो राजीनामालाई व्यक्तिगत नैतिक जिम्मेवारीको रूपमा प्रस्तुत गर्दै देशमा परिवर्तन चाहने सबैले सत्य, इमानदारी र आत्मशुद्धिको मार्ग अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। साथै उनले सञ्चारकर्मी, नागरिक समाज र युवालाई पनि निष्पक्षता र जिम्मेवारीसहित आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्