एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध रूपमा चयन भएका छन् । बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेताको जिम्मेवारी दिएको हो ।

सुरुआतमा दलको नेताका लागि सुहाङ नेम्वाङ ले समेत दाबी प्रस्तुत गरेका थिए। दुवै पक्षबिच सहमति नभएपछि निर्वाचन प्रक्रियामा जाने तयारी गरिएको थियो । तर, मनोनयन दर्ताको चरणमा नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उम्मेदवारी प्रक्रिया अघि बढ्न सकेन । त्यसपछि बादल निर्विरोध रूपमा संसदीय दलको नेतामा चयन भएका हुन् ।

निर्वाचन प्रक्रिया टुंगिएपछि नेम्वाङले बादललाई खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उक्त दृश्यले पार्टीभित्रको आन्तरिक एकता र सहकार्यको सन्देश दिएको नेताहरूले बताएका छन् ।

नवनिर्वाचित नेता थापाले पार्टीको नीति, कार्यक्रम र संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पार्टीभित्रको एकतालाई मजबुत बनाउँदै जनअपेक्षाअनुसारको कार्यसम्पादनमा केन्द्रित रहने संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्