रोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख नेता वर्षमान पुन पुनः विजयी भएका छन् । यससँगै उनले लगातार तेस्रो पटक निर्वाचन जित्दै ऐतिहासिक ह्याट्रिक सफलता हासिल गरेका छन् ।
मतगणनाको अन्तिम परिणामअनुसार पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डा. सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित रहे ।
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालराम थापाले १० हजार ८९४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत प्राप्त गरेका छन् । विप्लव नेतृत्वको नेकपा (माओवादी) का उम्मेदवार चूडामणि वलीले ३ हजार ७१४ मत पाएका छन् ।
निर्वाचनअघि विप्लव नेतृत्वको माओवादीले उम्मेदवार उठाएपछि पुनलाई केही चुनौती थपिने आँकलन गरिएको थियो । तर अपेक्षाअनुसार मत विभाजन हुन नसक्दा त्यसले चुनावी परिणाममा उल्लेखनीय प्रभाव पार्न सकेन ।
रोल्पा जिल्लामा कुल १ लाख ४९ हजार ५९७ मतदाता रहेका थिए । तीमध्ये ६८ हजार ७७६ अर्थात् ४६.३९ प्रतिशत मत खसेको थियो। खसेको मतमध्ये ६५ हजार ६३२ मत सदर भएका छन् भने ३ हजार १४४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
दोस्रो स्थानका लागि भने काँग्रेस र एमालेबिच कडा प्रतिस्पर्धा देखिएको थियो। रोल्पा लामो समयदेखि माओवादी आन्दोलनको आधार क्षेत्र मानिँदै आएको छ । यही क्षेत्रबाट पुनले विगतका निर्वाचनहरूमा पनि लगातार विजय हासिल गर्दै आएका छन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेर चुनाव लडेका पुनले ४२ हजार ८४ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । त्यति बेला नेपाली काँग्रेसका उम्मेदवार अमर सिंह पुनले २० हजार ३३७ मत प्राप्त गरेका थिए । त्यसपछि २०७९ को निर्वाचनमा काँग्रेससँग तालमेल गरेर चुनाव लड्दा पुनले ४१ हजार ७१४ मत प्राप्त गर्दै एमालेका पूर्ण बुढामगरलाई पराजित गरेका थिए, जसले १६ हजार ४८५ मत ल्याएका थिए ।
यस पटकको परिणामसँगै पुनले रोल्पाबाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आफ्नो राजनीतिक प्रभावलाई पुनः पुष्टि गरेका छन् ।
यो जितसँगै लुम्बिनी प्रदेशमा नेकपाले दोस्रो विजय दर्ता गरेको छ । यसअघि रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भइसकेका छन् । तत्कालीन माओवादी आन्दोलनको आधार इलाका मानिने रोल्पा र रुकुम क्षेत्रलाई प्रचण्ड र वर्षमान पुनले निरन्तर सुरक्षित बनाइरहेका छन् ।


