आज राति १२:०० बजेदेखि मौन अवधि सुरु हुँदै


विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने उद्देश्यले मोरङ जिल्लामा मौन अवधि आज राति १२:०० बजेदेखि लागू गर्दै छ । जिल्ला प्रशासन कार्यालय मोरङले फागुन १८ गते राति १२:०० बजेदेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचरण कडाइका साथ पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ अनुसार मौन अवधिमा कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ । राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भातृ संगठन वा सम्बन्धित व्यक्तिले सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया, छलफल लगायत कुनै पनि कार्यक्रम आयोजना गर्न नपाउने स्पष्ट पारिएको छ ।

प्रशासनका अनुसार मतदान हुनुभन्दा अठचालिस घण्टा अघि नै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री अनिवार्य रूपमा हटाउनुपर्ने व्यवस्था रहेको छ । साथै, मौन अवधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्ने, प्रचारप्रसार गर्ने वा कुनै पनि माध्यमबाट निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

विशेष गरी सामाजिक सञ्जालको प्रयोगलाई समेत कडाइका साथ नियमन गरिने प्रशासनले जनाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना, प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरिएका सम्पूर्ण सूचना तथा प्रेस विज्ञप्तिहरूमा उल्लेखित प्रावधानहरू समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने दोहोर्‍याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा मौन अवधिको उल्लंघन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रशासनले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा नागरिकलाई संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्