चौथो शिवरात्रि खुल्ला नकआउट फुटबल सुरु


केराबारी । केराबारी ९, भलुवामा कोसिस युवा क्लबको सहयोग तथा शिवरात्रि कप-२०८२ को चौथो शिवरात्रि खुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ । केराबारी गाउँपालिकाको मुख्य प्रायोजन र स्थानीय संघ–संस्थाको सहकार्यमा सञ्चालन हुन लागेको यस प्रतियोगिताले क्षेत्रीय खेलकुद गतिविधिलाई थप उत्साह दिएको छ ।

आयोजक समितिका संयोजक शंकर मगरका अनुसार प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ । माघ २६ गतेबाट सुरु भएको प्रतियोगिता फागुन ३ गते शिवरात्रीकै दिन फाइनल खेलसँगै सम्पन्न हुनेछ । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका खेलहरू भलुवा फुटबल चौरमा हुँदै आएका छन्, जहाँ स्थानीय खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।

प्रतियोगिताको पुरस्कार प्रथम हुने टोलीले रु ५१ हजार १११ प्राप्त गर्नेछ भने द्वितीय स्थान हासिल गर्ने टोलीले रु ३१ हजार १११ नगद पुरस्कार हात पार्नेछ । आयोजकका अनुसार उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विशेष सम्मान गर्ने तयारी गरिएको छ ।

संयोजक मगरले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ, अनुशासित र सभ्य समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । “खेलकुदले युवामा अनुशासन, सहकार्य र सकारात्मक सोच विकास गर्छ,” उनले भने, “यही भावनालाई मध्यनजर गर्दै शिवरात्रि कपलाई निरन्तरता दिइएको हो ।”

स्थानीय स्तरमा यस्ता प्रतियोगिताले प्रतिभावान् खेलाडीहरूलाई अवसर दिने, सामाजिक सद्भाव बढाउने र युवालाई दुर्व्यसनबाट टाढा राख्न सहयोग पुर्‍याउने विश्वास आयोजकको छ । शिवरात्रीको अवसर पारेर सञ्चालन गरिएको यस प्रतियोगिताले धार्मिक, सांस्कृतिक र खेलकुद गतिविधिलाई एउटै मञ्चमा जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्