बेलबारीमा स्वर्गीय बल बहादुर मगर स्मृति ब्याडमिन्टन प्रतियोगिता माघ १६ र १७ गते


बेलबारी । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई आत्मसात् गर्दै डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा स्वर्गीय बल बहादुर मगरको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोरङको बेलबारी नगरपालिका-११, लक्ष्मीमार्गस्थित डाँगीहाट क्षेत्रमा आगामी २०८२ माघ १६ र १७ गते दुई दिनसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्वर्गीय मगरले स्थानीय खेलकुद विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै आयोजना गर्न लागिएको यो प्रतियोगिताले बेलबारीसहित आसपासका क्षेत्रका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा मेन्स डबल्स ‘बी’ लेभल, ४५ वर्षमाथिको भेट्रान्स, क्लब सदस्य विधा, महिला डबल्स तथा पुरुष सिङ्गल्स गरी विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । मेन्स डबल्स ‘बी’ लेभलतर्फ प्रथम हुनेले ४१ हजार रुपैयाँ, द्वितीयले ३१ हजार र तृतीयले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथिको भेट्रान्स विधामा प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १५ हजार रुपैयाँ हात पार्नेछन् । क्लब सदस्य विधामा प्रथमलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । महिला डबल्सतर्फ प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने पुरुष सिङ्गल्सतर्फ प्रथमलाई १० हजार, द्वितीयलाई ८ हजार र तृतीयलाई ६ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

सबै विधामा सहभागी हुन चाहने खेलाडीहरूका लागि इन्ट्री शुल्क तोकिएको छ । मेन्स डबल्स ‘बी’ लेभल, ४५+ भेट्रान्स, क्लब सदस्य र महिला डबल्स विधाका लागि प्रतिटिम २ हजार रुपैयाँ तथा पुरुष सिङ्गल्सतर्फ ५ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

खेलहरू इन्द्रेणी ब्याडमिन्टन क्लब र डाँगीहाट ब्याडमिन्टन क्लबका कोर्टहरूमा सञ्चालन हुनेछन् । प्रतियोगिता अन्तर्राष्ट्रिय ब्याडमिन्टन महासंघ (BWF) र नेपाल ब्याडमिन्टन संघ (NBA) का नियमअनुसार खेलाइनेछ । प्रत्येक विधाको क्वाटरफाइनल चरणदेखि खेलाडीहरूले BWF ले तोकेअनुसारको टिसर्ट अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ । खेल सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि हलमा उपस्थित भई हाजिरी अनिवार्य गराउनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले २०८२ माघ १४ गतेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ । ४५ वर्ष उमेर समूहका खेलाडीहरूले ‘बी’ लेभल स्वतः खेल्न पाउने व्यवस्था गरिएको छ । खेलाडीमाथि दाबी–विरोध गर्नुपर्ने अवस्थामा ३० मिनेटभित्र २ हजार रुपैयाँ धरौटीसहित निवेदन दिनुपर्ने नियम लागू गरिएको छ । QR मार्फत शुल्क भुक्तानी गर्दा स्क्रिनसट अनिवार्य रूपमा पठाउनुपर्नेछ। प्रतियोगिताका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजक समितिको निर्णय अन्तिम हुने स्पष्ट गरिएको छ ।

प्रदेश स्तरमा जोडी बनाएर खेल्न नपाउने खेलाडीहरूको सूची पनि आयोजकले सार्वजनिक गरेको छ, जसमा संगम गिरी, आन्देश लिम्बू, अनमोल राई, दर्पन केरुङ, मन्दीप घले, प्रदीप श्रेष्ठ, सुरज राना मगर, घनेन्द्र बस्नेत, जुनुन राई, नीरज सिलवाल, उत्सव उप्रेती, किरण श्रेष्ठ, शैलेश आङ्देम्बे, योदेश राई, ज्योतिहाङ राई, जोन जोसराज, सन्जुहाङ लिम्बू, सुवास लिम्बू, ज्ञानु लिम्बु, दिनेश भण्डारी राई, सन्देश रायमाझी, चाणक्य पाठक, रविन साउदेन, सुजल चौधरी, जेनीस मगर, प्रतीक विष्ट, मिशेक लिम्बू र आशिष विष्ट रहेका छन् ।

प्रतियोगिताको मुख्य सहयोगीका रूपमा बेलबारी नगरपालिका र बेलबारी नगरपालिका-११ नम्बर वडा कार्यालय रहेका छन् । स्थानीय सरकारको सहयोग र खेल प्रेमीहरूको उत्साहले प्रतियोगिता सफल हुने विश्वास आयोजकले व्यक्त गरेको छ ।

अन्य जानकारीका लागि विकास श्रेष्ठ, दिनेश पन्त र हरि पाण्डेसँग सम्पर्क गर्न सकिने आयोजक डाँगीहाट ब्याडमिन्टन क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्