काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीति व्यक्ति वा निहित स्वार्थका लागि नभई समाज परिवर्तन र जनसेवामा केन्द्रित हुनुपर्ने बताएका छन्। उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलालाई आज सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अभ्यासमा देखिएका विकृति र विसंगतिप्रति संकेत गर्दै अबको राजनीति विकास र सेवामूलक बन्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री घिसिङले व्यक्तिगत स्वार्थका लागि राजनीति गर्दा समाजमा समस्या देखिने गरेको उल्लेख गर्दै राजनीतिकर्मीहरूलाई आत्ममूल्याङ्कन गर्न आग्रह गरे। उनले राजनीति गाली–गलौज र आरोप–प्रत्यारोपमा सीमित राखेर नहुने भन्दै कर्म र इमानदार सेवाबाट नै विश्वास जित्न सकिने धारणा राखे। “कसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुपर्छ,” उनले भने, “राजनीतिलाई पेसा होइन, समाज सेवाको माध्यम बनाउन आवश्यक छ। अबको राजनीति सेवा र समर्पणमा आधारित हुनुपर्छ।”
उनले देश विकासका लागि दीर्घकालीन सोच, पारदर्शिता र जबाफदेही नेतृत्व अपरिहार्य भएको बताउँदै युवापुस्तालाई सकारात्मक राजनीतिक संस्कार निर्माणमा लाग्न आग्रह गरे। मन्त्री घिसिङका अनुसार राजनीति सही दिशामा अघि बढे मात्रै समाजमा वास्तविक परिवर्तन सम्भव हुन्छ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यहरू डा. आशुतोष विजय पन्त, रिमा विश्वकर्मा र सीता पाण्डेले पछिल्लो राजनीतिक परिवर्तनमा आफूहरूले दिएको योगदानको चर्चा गर्दै त्यसलाई जोगाउँदै नयाँ शक्तिका रूपमा अघि बढेको बताए। उनीहरूले पुराना राजनीतिक अभ्यासबाट अलग रहेर जनमुखी र परिवर्तनकारी राजनीतिलाई संस्थागत गर्ने लक्ष्य पार्टीले लिएको उल्लेख गरे।
बागमती प्रदेश संयोजक प्रवीण तामाङको अध्यक्षतामा सम्पन्न उक्त जिल्ला भेलाले सङ्गठन सुदृढीकरणका लागि आगामी जिल्ला, नगर तथा पालिका भेलाको मिति समेत तय गरेको छ। भेलाले चितवनमा पार्टीको साङ्गठनिक विस्तार र स्थानीय तहसम्म जनसम्पर्क बढाउने रणनीतिमा केन्द्रित रहने निर्णय गरेको जनाइएको छ।


