बेलबारीमा नेपाल फिड्स एण्ड एग्रोटेक पुनः सञ्चालन : राष्ट्रिय खाद्य बैँकको स्वामित्वमा नयाँ सुरुवात


बेलबारी । लामो समयदेखि सञ्चालन अवरुद्ध अवस्थामा रहेको बेलबारी नगरपालिका–३ स्थित नेपाल फिड्स एण्ड एग्रोटेक प्रा.लि. पुनः सञ्चालनमा आउने भएको छ । करिब रु.५० करोडको लागतमा राष्ट्रिय खाद्य बैँक लिमिटेडले यसलाई आफ्नो स्वामित्वमा लिएर दशैँको शुभारम्भसँगै पुनः सञ्चालनमा ल्याएको हो । घटस्थापनाको अवसर पारेर आयोजित विशेष समारोहमा उद्योगलाई पुनः सञ्चालन गरिएको हो ।

उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर कुमार प्रधानले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै, उद्योगले सर्वप्रथम गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने सुझाव दिए । बजार व्यवस्थापन र स्थानीय सहकार्यलाई महत्त्वपूर्ण मान्दै उनले बेलबारीवासीलाई यस अभियानसँग जोडिन आह्वान गरेका छन् । कृषि प्रधान देश भनिए पनि ठोस उपलब्धि नभएको गुनासो गर्दै उनले सरकारी अनुदानको दुरुपयोग हुन नदिई, अबको बाटो आत्मनिर्भर कृषि विकासतर्फ मोड्नुपर्ने बताए ।

राष्ट्रिय खाद्य बैँक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले पुनः सञ्चालनसँगै स्थानीय नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले दशैँको शुभकामना दिँदै सबैलाई यस अभियानमा हातेमालो गर्न आग्रह पनि गरेका छन् । समारोहमा स्वागत मन्तव्य राख्दै प्रबन्धक निर्देशक जि.पी. ढुङ्गेलले बैँकको उत्पादन योजना सार्वजनिक गर्दै अन्नबाली, नगदेबाली, दलहन, तिलहन लगायतका बालीमा आधारित आत्मनिर्भर अभियानलाई देशभर विस्तार गर्ने जानकारी दिए ।

ढुङ्गेलका अनुसार नेपाल फिड्स एण्ड एग्रोटेकमा हाल संयोजित पशुखाद्य उत्पादनको काम भइरहेको छ । गाईका लागि दाना उत्पादन सुरु गरिएकाले निकट भविष्यमा कुखुरा, बङ्गुरलगायतका लागि पनि दाना उत्पादन सुरु गर्ने तयारी भएको उनले बताए । साथै, आगामी दिनमा तेल उत्पादन गर्ने लक्ष्यसमेत रहेको ढुङ्गेलले बताएका छन् ।

राष्ट्रिय खाद्य बैँक लिमिटेडको अभियान अहिले २२ जिल्लामा विस्तार भइसकेको छ भने निकट भविष्यमा देशव्यापी अभियानलाई थप गति दिने तयारी भइरहेको जनाइएको छ । बेलबारीमै प्रादेशिक कार्यालय स्थापना गरेर स्टोरेज, प्याकेजिङ र ब्रान्डिङसहित आफ्नै लोगोमार्फत खाद्य वस्तु बजारमा ल्याउने योजनाबारे ढुङ्गेलले जानकारी दिए ।

कार्यक्रममा स्थानीय शंकर गुरुङले बेलबारीको महत्त्वपूर्ण सम्पत्तिको रूपमा रहेको उद्योग पुनः सञ्चालन गर्ने काम प्रशंसनीय भएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । करोडौँको लगानीमा रोजगारी सृजना गर्दै उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि सराहनीय कदम भएको उनको भनाइ थियो । डा. ईश्वर सुवेदीले पनि कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

राष्ट्रिय खाद्य बैँक लिमिटेडका कोशी प्रदेश संयोजक माधव थापाको सञ्चालन तथा राष्ट्रिय खाद्य बैँक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्