बेलबारीमा साफ यू–१७ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षण सुरु


बेलबारी । आगामी सेप्टेम्बर १५ देखि श्रीलङ्काको राजधानी कोलम्बोमा हुने साफ यू–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमको बन्द प्रशिक्षण सोमबारदेखि मोरङको बेलबारी नगरपालिकामा सुरु भएको छ । राजधानीबाहेक बाहिर बन्द प्रशिक्षण भएको घटना इतिहासमै दुर्लभ हो ।

बेलबारी नगरपालिका–३ स्थित प्रस्तावित बेलबारी रङ्गशालामा भइरहेको प्रशिक्षणले स्थानीय मात्र नभई छिमेकी पालिकामा समेत फुटबल खेलको विकासमा नयाँ ऊर्जा थपेको छ । प्रशिक्षण अवधिभर खेलाडी तथा प्रशिक्षकहरूको बसोबासको व्यवस्था सुन्दरहरैँचामा रहेको नेपालीरिका होटेलमा गरिएको छ भने आवतजावतका लागि बेलबारी र सुन्दरहरैँचा नगरपालिकाले यातायात सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

नेपालभरिबाट ४५ जना खेलाडी बन्द प्रशिक्षणमा सहभागी भएका छन् । उनीहरूमध्ये छनोट प्रक्रियापछि २३ जना मात्र राष्ट्रिय टिमका लागि अन्तिम सूचीमा पर्नेछन् । दक्षिण एसियाली फुटबल संघ (साफ) ले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘ए’ मा पर्न गएको छ । नेपालले पहिलो खेलमा सेप्टेम्बर १५ मा आयोजक श्रीलङ्कासँग, दोस्रो खेलमा सेप्टेम्बर १८ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको सेमिफाइनल २५ सेप्टेम्बरमा र फाइनल २७ सेप्टेम्बरमा हुनेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।

खेलाडी र प्रशिक्षकलाई स्वागत सम्मान

यसअघि आइतबार मोरङ फुटबल संघले प्रशिक्षणमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई स्वागत तथा शुभकामना दिने कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह, बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई, सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार गुरागाईँ, लेटाङका पूर्व नगर प्रमुख शङ्कर राई, एन्फाका केन्द्रीय सदस्य महेन्द्र धिमाललगायतको उपस्थिति थियो ।

कार्यक्रममा एन्फा प्रवक्ता शाहले राजधानीभन्दा बाहिर प्रशिक्षण हुनु खेलको पहुँच विस्तारको दृष्टिले ऐतिहासिक भएको बताए । उनले खेलाडीलाई कठिन मेहनत, प्रतिबद्धता र निरन्तर अभ्यासमार्फत मुलुकको नाम उचाल्न आग्रह गरे । खेल क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न स्थानीय सरकारलाई समेत उनले सुझाव दिए ।

बेलबारी नगर प्रमुख राईले २५ दिनको बन्द सत्रबाट उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा व्यक्त गर्दै श्रीलङ्कामा नेपालको झन्डा फहरिने विश्वास प्रकट गरे । सुन्दरहरैँचा नगर प्रमुख गुरागाईँले निष्पक्ष छनोट प्रक्रियाको अपेक्षा गर्दै टिममा पर्न सके नसके पनि आफ्नो क्षमतामा निरन्तर सुधार गर्दै खेल क्षमता वृद्धि गर्दै देशको नाम उच्च राख्ने गरी खेल्ने उद्देश्य तर्फ साधै अग्रसर हुन खेलाडीहरूलाई आग्रह गरे ।
त्यस्तै, पूर्व लेटाङ नगर प्रमुख राई र एन्फा सदस्य धिमालले पनि खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए । अतिथिहरूले सबै खेलाडी र प्रशिक्षकलाई खँदा अर्पण गर्दै स्वागत तथा सम्मान गरेका थिए ।

मोरङ फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकीले बेलबारीलाई फुटबलमय बनाएकोमा नगर प्रमुख राईलाई धन्यवाद व्यक्त गर्दै मेयर कप जस्ता प्रतियोगिताले फुटबलको विकासमा ठुलो टेवा पुर्‍याएको उल्लेख गरे । उनले सुन्दरहरैँचाको खेल क्षेत्रमा गरिएको लगानीको पनि प्रशंसा गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा व्यक्त गरे ।

मोरङका अजय दर्जी र योहाना लिम्बु बन्द प्रशिक्षणमा

४५ खेलाडीमध्ये मोरङका दुई प्रतिभावान् युवा खेलाडी बन्द प्रशिक्षणमा परेका छन् । वर्ष १६ का अजय दर्जी र योहाना लिम्बु यस पटक नेपालको यू–१७ टोलीमा स्थान पाउने सम्भावनासहित प्रशिक्षणमा रहेका हुन् ।

योहाना लिम्बु मोरङको केराबारी गाउँपालिका–९ का निवासी हुन् भने अजय दर्जी बेलबारी–१ मा बसोबास गर्दै आएका छन् । दुबै जना बाल्यकालदेखि नै बेलबारी फुटबल क्लबमार्फत फुटबलमा सक्रिय हुँदै आएका हुन् । क्लबका अध्यक्ष रसिन लामाका अनुसार उनीहरू दुवैले लामो समयदेखि निरन्तर अभ्यास गर्दै आएका कारण पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् ।

अजय र योहाना दुवै अहिले काठमाडौँस्थित सातदोबाटो यूथ क्लबबाट ए डिभिजन स्तरको प्रतिस्पर्धात्मक फुटबल खेल्दै आएका छन् । क्लबमार्फत निरन्तर अभ्यास र राष्ट्रिय स्तरको अनुभवले उनीहरूलाई यू–१७ राष्ट्रिय टोलीमा प्रवेश गर्ने अवसर दिलाएको अध्यक्ष लामाले बताए ।

नेपालका लागि महत्त्वपूर्ण मानिएको साफ यू–१७ च्याम्पियनसिपमा मोरङका दुई खेलाडीको सहभागिताले स्थानीय स्तरमा खेलकुदको क्षेत्रमा उत्साह थपिएको छ । बेलबारी फुटबल क्लबले पनि आफ्ना खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मौका पाएकोमा खुसी व्यक्त गरेको छ ।

फोटो फिचर – शिशिर राई

प्रतिक्रिया दिनुहोस्