नेकपा (एस) का नेता झलनाथ खनालको कटाक्ष : माधव नेपालले ‘पहिले ऐना हेरेर’ मात्र टिप्पणी गर्न सुझाव


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति तीखो कटाक्ष गर्दै ‘पहिले ऐना हेरेर’ मात्र टिप्पणी गर्न सुझाव दिएका छन्। पार्टीभित्र पछिल्ला दिनमा देखिएको वाकयुद्धले चर्को रूप लिँदै जाँदा खनालले अध्यक्ष नेपालकै अघिल्लो अभिव्यक्तिको आधारमा उल्टो प्रश्न खडा गरेका हुन्।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सेवा गरेर बस्न’ व्यंग्य गरेका थिए। उनले नयाँ पार्टी बनाउने क्रममा भएको विद्रोहलाई अहिले औचित्यहीन ठहराउँदै, यस प्रकारको धारणा पार्टी अनुशासन विपरीत भएको टिप्पणी गरेका थिए।

तर, खनालले नेपालका ती भनाइलाई जवाफ दिँदै प्रहार गरे — “हामीले विद्रोह गरेर आएको पनि चार वर्ष भइसक्यो, महाधिवेशन भएको पनि १३ महिना पुगिसक्यो। तर अहिलेसम्म न वैज्ञानिक समाजवादको स्पष्ट कार्यक्रम आएको छ, न विद्रोह पुष्टि गर्ने ठोस प्रयास देखिएका छन्।”

नेपालकै पूर्ववक्तव्य उद्धृत गर्दै खनालले थपे, “माधव कमरेड बारम्बार भन्नु हुन्छ — ‘बहुदलीय जनवाद त छोड्नै सकिँदैन, यो नै सबैभन्दा राम्रो लोकतन्त्र हो, एकदलीय जनवाद सम्भव छैन।’ यदि बहुदलीय जनवाद नै मूल मान्यता हो भने त्यसको मूल केन्द्र त नेकपा एमाले नै हो।”

खनालको तर्कमा झनै धारिलो चोट यसरी प्रकट भयो — “यदि बहुदलीय जनवाद नै तपाईँको आदर्श हो भने बरु एमालेमै फर्किएको राम्रो हुन्थ्यो। मलाई एमाले जानुपर्छ भन्नुभन्दा, आफूले एक पटक ऐनामा अनुहार हेरेर फर्कने कुरा सोच्नु उपयुक्त हुने थियो।”

यसरी, पार्टीको नेतृत्व तहमै खुलेर भएको ‘राजनीतिक कटाक्ष’ ले एकीकृत समाजवादीभित्रको मतभेद सतहमा मात्र नभई विचार–अवधारणाको गहिरो तहमा समेत पुगेको सङ्केत दिएको छ।

प्रतिक्रिया दिनुहोस्